यस्ता छन असल शिक्षकमा हुने गुणहरु !



कुनै पनि व्यक्तिको जीवनमा शिक्षकको प्रत्यक्ष प्रभाव पर्छ । उसको चरित्र र करियर उसको शिक्षा र शिक्षकसंग सम्बन्धित रहन्छ। शिक्षकमा विद्यार्थीको जीवनको दिशा नै परिवर्तन गरिदिन सक्ने शक्ती हुन्छ ।

असल शिक्षकमा हुने गुणहरु

  • जुनसुकै पेशाको व्यक्तिले पनि आफ्नो कामलाई माया गर्छ र आफ्नो पेशालाई सम्मान गर्छ भने मात्र उसले आफ्नो काममा शतप्रतिशत मेहनत गर्छ । त्यसैले असल शिक्षकले पनि पढाउने कामलाई बोझ ठान्दैन, ऊ त्यसमै रमाउँछ र आफ्नो पेशालाई सम्मान गर्छ ।
  • कुनै पनि व्यक्तिले सुनेको भन्दा देखेको कुरा छिटो लिन्छ । बच्चामा यो कुरा अझ बढी लागु हुन्छ । त्यसैले असल शिक्षकले ‘तँ अनुशासनमा बस्’ भन्ने निर्देशन मात्र दिंदैन । ऊ आफू अनुशासनमा बस्छ र विद्यार्थीलाई अनुशासनमा रहन सिकाउँछ ।
  • शिक्षक भनेको किताब भित्रको ज्ञान मात्र दिने व्यक्ति होइन । असल शिक्षक समय अनुसार र विश्वका घटनाक्रमका बारेमा आफूलाई अपडेट राख्छ । जसले गर्दा उसले विद्यार्थीलाई बाहिरि दुनियाँसंग घुलमिल हुन, भिड्न सिकाइरहेको हुन्छ ।

 

  • अल्बर्ट आइन्सटाइनले भनेका छन् ,’ यदि तिमीले कुनै कुरा अरुलाई बुझाउन सकिरहेको छैनौ भने, त्यो कुरा तिमी आफूले नै राम्रोसंग बुझेको छैनौ’ । त्यसैले असल शिक्षकले आफूले पढाउने, विद्यार्थीलाई भन्ने कुरालाई पहिले आफूले राम्रोसंग अध्ययन र विश्लेषण गर्छ बुझ्छ । सानो कुरा नै भएपनि उसले त्यसलाई गहिरिएर केलाउँछ ।
  • असल शिक्षक जहिले पनि आफ्ना विद्यार्थीबाट आशावादी रहन्छ । त्यसैले उसले विद्यार्थीलाई मार्गनिर्देशन गर्छ र उसमा उत्प्रेरणा जगाउन मद्दत गर्छ ।
  • असल शिक्षक विद्यार्थीहरुसंग दोहोरो संवाद गर्न मन पराउँछ । उसले विद्यार्थीलाई आफूले पढाइरहेको विषयवस्तुमा प्रत्यक्ष सहभागी गराउँछ । उसले विद्यार्थीबाट पनि केही सिक्न सकिन्छ भन्ने मान्यता समेत राख्छ । यसको साथै असल शिक्षकले आफ्ना विद्यार्थीका अभिभावकसंग राम्रो सम्बन्ध राख्छ ।
  • असल शिक्षकले आफूले पढाउने विद्यार्थीहरुमा एकसंग अर्कोको तुलना गर्ने, कसैलाई प्रोत्साहन गर्ने र कसैलाई हतोत्साहित गर्ने गर्दैन । उसले सबै विद्यार्थीलाई समान व्यवहार गर्छ । विद्यार्थीमा हुने फरक-फरक क्षमतालाई चिनेर विद्यार्थीलाई उसको क्षमतामा निखार ल्याउन मद्दत गर्छ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार