दक्षिण कोरियामा तीन दिनदेखि भीषण आगलागी



सियोल । दक्षिण कोरियामा तेस्रो दिन पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद यहाँ बिहीबार तेस्रो दिनसम्म पनि डढेलो नियन्त्रणमा ल्याउन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुक्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो ।

उक्त डढेलो निभाउन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ । यद्यपि, तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन । आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अहिलेसम्म बाहिर आएको छैन । रासस

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार