विद्यालय कर्मचारी र इसीडि शिक्षकको तलब १७२५० पुर्‍याउन माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र



काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौता अनुसार बजेट मार्फत सम्बोधन गरीनु पर्ने भन्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज अर्थमन्त्री जर्नाधन शर्मालाई भेटी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कुनै कुरा प्रष्ट उल्लेख भएको नदेखिएकोले त्यसको अविलम्व प्रबन्ध गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासङघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत लगानी प्रबन्ध गर्न र शिक्षक कर्मचारीको समायोचित तलब बृद्धि गर्न भनिएकोे छ ।

यस्तो छ महासंघले बुझाएको ध्यानाकर्षण पत्र :
१. आ.व.२०७८/०७९ को बजेटमा तोकिए वमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक क्रमशःरु २०,५००।– र रु.१५०००।– मा यस पटकको तलव बृद्घि समेत जोडी आ.व. २०७९÷०८० बाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन ।

२. बालकक्षाका शिक्षकको तोकिएको पारिश्रमिक रु.१५०००।– मा यस पटकको तलव बृद्घि समेत जोडी आ.व.२०७९/०८० बाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन ।

३. आ.व. २०७८/०७९ को बजेटबाट प्रवन्ध गरिएको सुविधा सहितको १० दिने पर्यटन काज, दुर्घटना विमा तथा स्वास्थ्य सुरक्षा विमा विद्यालयका शिक्षक–कर्मचारीको हकमा समेत लागू हुने प्रबन्ध गर्न ।

४.शिक्षा क्षेत्रका लागि कूल बजेटको २०% लगानीको प्रबन्ध गर्न ।

५.अस्थायी शिक्षकको आन्तरिक परीक्षापछि सेवाबाट वहिर्गमनमा परेका शिक्षकहरु मध्ये केही शिक्षकहरु नियमानुसार गोल्डेन हैण्डसेक लिन छुट्नु भएको छ । त्यस्ता शिक्षकहरुलाई नियमानुसार पाउने गोल्डेन हैण्डसेक उपलब्ध गराउन ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार