
छोटो समयमै सुन्दर यातायात प्रालिको भगिनी संस्था, सुन्दर अटो इन्जिनीयरिङ प्रालिले १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ । पेट्रोलियम पदार्थको मूल्य धेरै नै बढ्न थालेपछि यसको खपत घटाउने उद्देश्यले कम्पनीले एक महीनाअघि सवारीसाधनलाई विद्युतीयमा परिणत गर्ने काम थालेको थियो ।
हालसम्म कम्पनीले १ हजार ३२८ ओटा विद्युतीय सवारीसाधन तयार गरेको छ । कम्पनीले काठमाडौंको धुम्बाराही र काठमाडौं बाहिरका लागि बुटवलको कालिकानगरमा रहेका आफ्नै प्लान्टबाट मोटरसाइकल र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गरेको हो ।
सुन्दर अटोले विदेशबाट पार्टपुर्जा आयात गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्देश्यले २ वर्षपहिले नै करीब १ अर्ब लागतमा बुटवलमा एसेम्बल प्लान्ट स्थापना गरेको थियो ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले अहिलेलाई भने दुईपांग्रे सवारीसाधनमा मात्र काम गर्दै आएको छ । तर केही महीनाभित्रै चारपांग्रे गाडी पनि यो काम सुरु गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
दुईपांग्रेलाई विद्युतीयमा रूपान्तरण गर्न ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने कम्पनीले जानकारी दिएकाे छ । यस्तै ८०० सीसीसम्मको कारलाई विद्युतीयमा रूपान्तरण गर्न १४ लाख रुपैयाँसम्म खर्च लाग्ने सुन्दर अटोका इन्जिनीयर पाण्डव पौडेलले जानकारी दिए ।