कृष्णमान जोसँग हारे, उनैलाई हराएर अध्यक्षमा निर्वाचित भए



ललितपुर । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा हारेका नेकपा एमालेका नेता कृष्णमान लामा यसपटक भने विजयी भएका छन् । ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट गोपीलाल सिंगतान, नेपाली कांग्रेसबाट राजनप्रसाद घिमिरे र नेकपा एमालेबाट कृष्णमान लामा उम्मेदवार थिए ।

उक्त निर्वाचनमा १७९८ मत ल्याएर गोपीलाल सिंगतान अध्यक्ष पदमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले १७३२ ल्याए । एमालेका कृष्णमान लामा १४७८ मत ल्याएर तेस्रो नम्बरमा रहे ।

तर यसपटकको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन गर्दा पनि एमालेका कृष्णमान अध्यक्षमा निर्वाचित भए । गठबन्धनको तर्फबाट यसअघि निर्वाचित माओवादीका नेता गोपिलाल सिंगतान अध्यक्षका उम्मेदवार थिए भने दोस्रो स्थानमा रहेका घिमिरे उपाध्यक्षका उम्मेदवार थिए । गठबन्धनलाई परास्त गरेर एमालेबाट निर्वाचित भएपछि लामाको चर्चा चुलिएको छ ।

यसअघिकै प्रतिस्पर्धीहरू मोर्चाबन्दी गरेर निर्वाचनमा जाँदा पनि लोकप्रीय मतका साथ लामाले जितेपछि गठबन्धन भित्र असन्तुष्टि रहेको चर्चा सुरु भएको छ । लामाले ३१०४ मत पाउँदा गठबन्धनका उम्मेदवार सिंगतानले २५०९ मत पाए । यस्तै उपाध्यक्षमा भने गठबन्धनका राजनप्रसाद घिमिरे ३२२७ मत पाएर निर्वाचित भए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार