चुनाव प्रचारप्रसारमा हिँड्ने शिक्षकलाई कारबाही हुने



बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ ।

एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताए । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धी ऐन, कानुनले पनि नदिने उनको भनाइ छ ।

एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्नरनगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कारबाही हुने एकाइले जनाएको छ ।

दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार