गगनलाई ओलीको व्यंग्य जब चाहियो भने बालकोट आउनू,ट्युसन पढाउने भए ठाउँ मिलाइदिन्छु



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए।

अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहोर्‍याए। उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरू उम्मेदवारमा आएको बताए।उनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप समेत लगाए।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा बहसका लागि आउन चुनौती दिए। उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरूसँग एमालेभित्र पनि भिडाइदिने बताए। जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिने उनले बताए।

उनले नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरूले महिला भनेर श्रीमती र छोरी उठाएको बताए। अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको विरूद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौं। कोही ट्युसन क्लास चलाउँछु भन्नेहरू पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरू थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरूसँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन। तर हामी बहस गर्न तयार छौं।’

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्तित्वको रक्षा गरेको बताए। उनले नेपाली कांग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली कांग्रेसले गर्न नदिएको बताए।

अध्यक्ष ओलीले भने, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरू कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो। त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले छानबिन गर्न नदिने अगुवाइ गर्‍यो। उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने। नेपाली कांग्रेसको सरकार छ, गृह मन्त्रालय सम्हालेको छ, कांग्रेसकै गृहमन्त्री हुनुहुन्छ। ९/१० महिना कानमा तेल हालेर बस्नुभयो। आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले। किन गर्नुहुन्न। अहिले हामी छानबिन गर्न दिन्छौं। त्यतिबेला दिएको थिएन।’

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताए। उनले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउने बताए। अध्यक्ष ओलीले भने, ‘५ दलीय गठबन्धन देश र अहिलेका निम्ति कष्ट हो। पीडा हो। अलिक समयका लागि आएको लुतो हो। ठूलै घाउ पनि होइन तर बस्न पनि दिँदैन। केही समयका लागि पीडा हो।

यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनु पर्छ। लुतो पन्छाउने दिन हुन्छ नेपालमा। यस पल्ट दुई दिन हुने भयो। एउटा लुतो पन्छाउने दिन सरेर वैशाख ३० आयो। अर्को अन्तिममा पन्छाउने दिन मंसिरमा आउँछ। लुतो पन्छाएर छोड्नुपर्छ। यो असंवैधानिक गठबन्धन लुतो हो। यसलाई पन्छाउँ।’

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार