निर्वाचन सुरक्षाका लागि खटियो नेपाली सेना



महेन्द्रनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सरकारले सेना खटाउन स्वीकृती दिएसँगै कञ्चनपुरमा सेना सदरमुकाम महेन्द्रनगरबाहिर खटिन सुरु भएको छ ।

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै निर्वाचनका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न सेना परिचालन सुरु भएको हो । कञ्चनपुरमा बुधबारदेखि यहाँको दोधारा चादँनी नगरपालिका र दक्षिण क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा सैनिक अधिकृतको नेतृत्वमा सेना परिचालन भएको छ । यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले निर्वाचन सुरक्षाका लागि तोकिएको निर्देशनअनुसार सेना परिचालन सबै पालिकासम्म गरिने जानकारी दिए।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्लाभरको निर्वाचन शान्ति सुरक्षाका लागि आवश्यक सक्रियता बढाइसकेको छ । यहाँका सबै सुरक्षा निकायले मतदान केन्द्रको निरीक्षण गरिसकेका छन् । स्थानीय प्रशासनले ६६ वटा मतदानस्थललाई अति संवेदनशील, २६ लाई संवेदनशील र ४० वटा मतदान केन्द्रलाई सामान्यमा राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘यहाँका सबै पालिकालाई भ्याउने गरी निर्वाचनलाई लक्षित गरी सेनाको गस्ती र उपस्थिति रहन्छ,’ गुल्मपति सेनानी केसीले राससलाई भन्नुभयो, ‘त्यसका लागि स्थानीय प्रशासनसित आवश्यक समन्वयअनुसार सेना निर्वाचन सुरक्षामा खटिन्छ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी निरीक्षक श्यामसिंह चौधरीले मतदाता, मतदान केन्द्र, मतपेटिकालगायत निर्वाचनको सबै क्षेत्र र तहको सुरक्षाका लागि नेपाल प्रहरी तयारी हालतमा रहेको बताए। ‘सम्भवतः शुक्रबारदेखि जिल्लाभर म्यादी प्रहरीसमेत परिचालन हुन्छ,’ उनले भने, ‘निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा निकायसित पनि समन्य गरेर शान्ति सुरक्षामा विशेष ध्यान दिन्छौँ ।’

नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
आज कञ्चनपुरका नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । सात नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिए। ‘भीमदत्त नगरपालिकाभित्र र अन्य पालिकामा नगर र गाउँपालिकाको सेरोफेरोमै कार्यालय स्थापना भए,’ प्रमुख जोशीले भने, ‘निर्वाचन अधिकृतले नै अब कार्यालयका लागि आवश्यक कर्मचारी नियुक्त गर्नेछन् ।’

यहाँको भीमदत्त नगरपापालिकामा कार्यालय स्थापना कार्यक्रममा निर्वाचन मुख्य अधिकृत तथा जिल्ला अदालत कञ्चनपुरका न्यायधीश मदनबहादुर धामी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

यसअघि निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई तालिम÷प्रशिक्षण दिइएको छ । दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा निर्वाचनका लागि ३४१ मतदान केन्द्र र १३२ मतदानस्थल तोकिएको छ ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले मुख्य निर्वाचन अधिकृतको कार्यालयसित अन्य तहमा रहेका निर्वाचन कार्यालयको समन्वयमा निर्वाचनसम्बन्धी कामकाज अघि बढ्ने बताए। ‘निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्ररूपमा निर्वाचन गराउनेछन्,’ उनले भने, ‘आवश्यकताअनुसार समन्वय भने हुन्छ ।’

उनले जिल्लामा निर्वाचनमा जनशक्ति खटनपटनका लागि जनशक्ति समिति गठन गरिएकोले सो समितिले नै जिल्लाभर मतदान अधिकृतलगायत कर्मचारी खटाउने बताए। विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा यहाँका नौमध्ये पाँच पालिकामा नेकपा एमाले र दुई÷दुई पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र विजयी भएका थिए । यसपटक भने सत्तारूढ गठबन्धन र प्रतिपक्ष दल पालिका र वडा तहको उम्मेदवार टुङ्गो लगाउन आन्तरिक छलफल तथा गृहकार्यमा जुटेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार