गठबन्धको हैसियत बैशाख ३० गते देखाइदिन्छौँ, ५ बाख्रा एकठाउँ उभिँदैमा भैँसी हुँदैन: अध्यक्ष ओली



बझाङ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले देशभरी छाएको एमालेको लहरले पाँच दलीय गठबन्धनको हैसियत देखाइदिने दाबी गरेका छन् । बझाङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेले गठबन्धनको हैसियत देखाइदिने बताए ।

उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँदैन।’ साथै उनले गठबन्धनलाई रिसाएको बिरालोको संज्ञासमेत दिएका छन् । उनले हाल गठबन्धनको अवस्था रिसाएको बिरालोजस्तै भएको उल्लेख गरे ।

गभर्नरलाई निलम्बन गरिएको प्रशंग उल्लेख गर्दै उनले भने, अहिले पाँच दलीय गठबन्धको हालत रिसाएको बिरालोजस्तो भएको छ । मैले पहिले पनि भन्ने गरेको थिएँ । हिन्दीमा एउटा उखान छ । खिसियानी बिल्ली खम्बा नोचे अर्थात रिसाएको बिरालेले खम्बा चिथोर्छ । त्यस्तैगरी एमालेसँग रिसाएको गठबन्धनले गभर्नरलाई बर्खास्त गरियो।’

अध्यक्ष ओलीले गठबन्धनकै दलहरुका कार्यकर्ताहर एमालेमा प्रवेश गर्नेको लर्को रहेको दाबी गरे । ‘एमाले प्रतिपक्षमा भएका बेला मन्त्री, राजदूत नियुक्त नगर्ने भए पनि सत्तारुढ पार्टीकै नेता कार्यकर्ताहरू खोलो पहिरो जस्तै भएर एमालेमा प्रवेश गरिरका छन्,’ उनले भने ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार