देशभक्तहरुबीच चुनावी सहकार्य गर्ने निर्णय गर्दै मालेको केन्द्रीय कमिटी बैठक सम्पन्न



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । चैत १४–१६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय, रातोपुल, काठमाडौंमा महासचिव सीपी मैनालीको अध्यक्षतामा बसेको बैठक स्थानीय तहको निर्वाचन लगायतका विषयमा विभिन्न निर्णय गर्दै सम्पन्नभएको पार्टीका प्रवक्ता कुमार बेलबासेले बताउनु भयो । बैठकले देशभक्तहरुबीच चुनावी सहकार्य वा तालमेल गर्न सक्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् बैठकले गरेका निर्णयहरु


१.स्थानीय तहको निर्वाचन सम्बन्धी नीति

२०७९ बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचन मूलरुपमा स्थानीय विकास केन्द्रित सरकार निर्माण गर्ने निर्वाचन भएकोले यस निर्वाचनको सन्दर्भमा पार्टीहरु बिचको केन्द्रीय राजनीतिक अन्तरबिरोध तुलनात्मकरुपमा कम प्रभावी रहन्छ । यसै वास्तविकतालाई हेरेर स्थानीय तहको निर्वाचनमा चुनावबाट पार्टी उम्मेदवारले सफलता प्राप्त गर्ने गरी प्रदेश कमिटी–नेतृत्वको संलग्नतामा स्थानीय पार्टी कमिटीहरुले जुनसुकै पार्टीसंग पनि चुनावी सहकार्य वा तालमेल गर्न सक्ने पार्टी नीति कायम गरिएको छ ।

यो स्थानीय चुनावमा पार्टीले आफ्नो ‘हँसिया तारा’ चुनावचिन्ह चिन्ह लिएर पार्टी घोषणापत्रका आधारमा चुनावी प्रतिस्पद्र्घा गर्नेछ । जनतामा पार्टीको तात्कालिक कार्यक्रम र कार्यनीतिको व्यापक प्रचार गर्नुका साथसाथै इण्डो–पश्चिमा राजनीति र नक्कली कम्युनिष्टहरुको सशक्त भण्डाफोर पनि गर्नेछ । यी दुवै काममा पार्टी प्राथमिकता दिएर लाग्ने छ ।

२.उम्मेदवार निर्धारणको नीति

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाअध्यक्ष तथा वडासदस्य, नगरपालिका मेयर/उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदको उम्मेदवार तय गर्दा पालिका कमिटीको सिफारिसमा र प्रदेश नेतृत्वको जानकारीमा जिल्ला कमिटीहरुको निर्णय बमोजिम हुनेछ ।

उप महानगरपालिका मेयर/उपमेयर वडाअध्यक्ष र वडासदस्य तथा महा नगरपालिकाका वडाअध्यक्ष तथा वडासदस्य पदको उम्मेदवार तय गर्दा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

त्यस्तै महा नगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारी प्रदेश कमिटी मार्फत जिल्ला कमिटीले पठाएको सिफारिसका आधारमा केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गर्नेछ । माथिल्लो कमिटीलाई नगर, उपनगर र महानगरपालिकाका मेयररउप मेयरको पदका लागि बढीमा तीनजना सम्मको नाम सिफारिस गर्न सकिनेछ ।

३. उम्मेदवार निर्धारण गर्ने
२०७८ चैत मसान्तभित्रै सबै तहका पदहरुमा उम्मेदवार निर्धारण गर्नु पर्नेछ ।

४. उम्मेदवारको मापदण्ड
पार्टी नीति, कार्यक्रम र अनुशासनको ज्ञान भएको, जनताका समस्याहरुको समाधानमा सकृयतापूर्वक लाग्ने, जनसेवी र समाजसेवी चरित्र भएको लोकप्रिय तथा मृदुभाषी, विनम्र, अरूका कुरा ध्यान दिएर सुन्ने, सामान्य लवाइ–खुवाइ गर्ने, सामूहिक ढङ्गले काम गर्ने, महिलाहरुको मर्यादा गर्ने र अरूलाई पनि काममा गोलबद्ध गर्ने चरित्र भएको, अव्यसनी, मीतव्ययी, आत्मनिर्भर, आर्थिक पारदर्शी, निष्कपट, स्पष्ट र आर्थिक प्रलोभनमा नफँस्ने, धाक–धम्कीका अघि नझुक्ने स्वभाव भएको तथा मुलुकको प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएका पार्टी सदस्यलाई प्राथमिकता दिएर उम्मेदवार तय गर्नुपर्दछ ।

५. केन्द्रीय निर्वाचन परिचालन कमिटी

(१) संयोजक– स्थायी कमिटी सदस्य क.कुमार बेलबासे, (२) स्थायी कमिटी सदस्य क.दीननाथ घिमिरे, (३) स्थायी कमिटी सदस्य क.खगेन्द्र प्रसाईं, (४) स्थायी कमिटी सदस्य क.सुरेन्द्र ढकाल, (५) स्थायी कमिटी सदस्य क.कृष्ण राना, (६) पोलिटब्युरो सदस्य क.चन्द्रकान्त आचार्य, (७) पोलिटब्युरो सदस्य क.रामचन्द्र प्रसाद गुप्ता, (८) वै. पोलिटब्युरो सदस्य क.महेन्द्र शाह र (९) केकस क.बलवहादुर गिरी ।

आवश्यकता अनुसार केन्द्रीय निर्वाचन परिचालन कमिटीले आफ्ना सदस्य र जगेडा जनशक्तिलाई कमिटीको निर्णय बमोजिम कुनै पनि जिल्लामा परिचालन गर्न सकिने छ ।

६.जगेडा जनशक्ति

बरिष्ठ सदस्य कमिटीका सदस्यहरु, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु, राष्ट्रिय परिषदका मनोनित सदस्यहरु र वर्गीय तथा जनसंगठनका केन्द्रीय पदाधिकारीहरु जगेडा जनशक्तिको रुपमा रहनेछन् । जगेडा जनशक्ति केन्द्रीय निर्वाचन परिचालन कमिटीको निर्णय बमोजिम परिचालित हुनेछन् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार