काेराेना महामारीको केन्द्र अब अमेरिका, एकैदिन थपिए १७ हजार नयाँ बिरामी



काठमाडौं, १४ चैत । कोभिड-१९ अर्थात् कोरोना भाइरसको महामारीको केन्द्र अब अमेरिका बनेको छ । यसअघि नै विज्ञहरुले न्यूयोर्क राज्य महामारीको केन्द्र बन्ने खतरा रहेको बताएका थिए । र, पछिल्लो २४ घण्टामा यहाँ कोरोना भाइरसका बिरामी १७ हजारभन्दा बढी थपिएका छन् । अब अमेरिकामा विश्वकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएका छन् । वल्र्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिका कुल संक्रमितको संख्या ८५ हजार २६८ पुगेको छ, जसमा १७ हजार ५७ जना पछिल्लाे एक दिनमा मात्र थपिएकाे हुन् । यसैगरी कुल मृत्यु हुनेको संख्या पनि १ हजार २९३ पुगेकाे छ, जसमा २६६ जनाको मृत्यु पछिल्लो २४ घण्टामा मात्र भएको छ ।

हिजोसम्म संक्रमित यो संख्याका आधारमा चीन विश्वकै अगाडि थियो । तर अमेरिकामा पछिल्लो समय नाटकीय ढंगले यो संख्या बढेको पाइन्छ । चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८१ हजार २८५ रहेको छ । तर चीनमा ७४ हजार ५८८ निकाे भइसकेका छन् भने बाँकी ३ हजार ४६० जना मात्र सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा भने १ हजार ८६४ मात्र निकाे भएका छन् । उता इटलीले पनि चीनलाइ उछिन्न लागेकाे देखिन्छ, त्यहाँ हालसम्म कुल संक्रमितकाे संख्या ८० हजार नाघेकाे छ । यद्यपि मृत्यु संख्यामा पनि इटली सबैभन्दा अगाडि छ, जहाँ कुल ८ हजार २१५ जनाले ज्यान गुमाइसकेका छन् ।

यसरी एकाएक अमेरिकामा नयाँ संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरुमा चिन्ता पनि थपिएको छ । उनीहरुले अमेरिकामा यो संख्या आउँदो अप्रिलसम्म अझै तीव्र रुपले बढ्दै जाने बताएका छन् । बिहीबार दिउँसो त्यहाँको राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ब्रिफिङगमा पछिल्ला तथ्यबारे सोध्दा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस परीक्षणको मात्रा बढाइरहेको बताए । उपराष्ट्रपति माइक पेन्सले कोरोनाभाइरस परीक्षण त्यहाँका सबै ५० राज्यमा उपलब्ध भएको बताए । अहिलेसम्म अमेरिकामा ५ लाख ५२ हजारभन्दा बढीमा देशव्यापी रूपमा परीक्षण सम्पन्न भएको उपराष्ट्रपतिको भनाइ छ । परीक्षणलाई तीव्रता दिएसँगै अमेरिकामा संक्रमितको संख्या बढेको पाइएको हो ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार