यस्तो छ आजको मौसम,पानी पर्ने सम्भावना कति ?



काठमाडौं । देशको पहाडी भू-भागमा हाल आंशिक बदली रहेको छ । अहिले कुनै उल्लेख्य मौसमी प्रणाली नरहेकाले तराईका भूभागमा हुस्सु लागेको छ भने अन्यत्र मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (मंगलबार)दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका अधिकांश स्थानमा आंशिक बदली रहने र मौसम सामान्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

उल्लेखनीय मौसम परिवर्तन नभए पनि बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार