यस्तो छ अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिको नयाँ प्रतिवेदन, दक्षिण एसियामा यस्तो छ तयारी ?



काठमाडौं । अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन्द प्रशान्त क्षेत्र स्वतन्त्र हुनुपर्नेमा जोड दिएको र यसका लागि आफ्ना साझेदारहरुसँगको सहयोगमा काम गर्न अमेरिका प्रतिबद्ध रहेको जनाए ।

ह्वाइट हाउसले भनेको छ, ‘हामी एक रणनीतिक साझेदारी बनाउन जारी राख्नेछौं ।’ अमेरिकाले आफ्नो रिपोर्टमा भारतलाई समान विचारधारावाला क्षेत्रीय साझेदारको सूचीमा राखेको छ भने लक्ष्यमा चीनलाई राखेको छ । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा थप कूटनीतिक र सुरक्षा स्रोतहरु परिचालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

भारत क्षेत्रीय साझेदार, चीनको विरोध
प्रतिवेदनमा चीनको आक्रामकता विश्वभर फैलिएको र त्यसमध्ये हिन्द प्रशान्त क्षेत्रमा धेरै रहेको जनाइएको छ । अस्ट्रेलियामाथि आर्थिक दबाबका साथै भारतसँग वास्तविक नियन्त्रण रेखमाथि संघर्ष, ताइवानमा बढ्दो दबाब र पूर्वी दक्षिण चीन सागरमा छिमेकीलाई धम्कीजस्ता चीनको व्यवहारले आफ्ना सहयोगी राष्ट्रलाई असर पुगेको अमेरिकाको आरोप छ ।

चीनले मानवअधिकारहरु र अन्तर्राष्ट्रिय कानुनहरुको पनि उल्लंघन गरिरहेको प्रतिवेदन जनाइएको छ । ‘आगामी एक दशकको प्रयासमा चीन नियम पालनाका लागि बदलिने अपेक्षा छ, जसले हिन्द प्रशान्त र विश्वभरलाई नै फाइदा पुग्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।

केके छन् विशेषता ?
प्रतिवेदनको पहिलो भागमा रणनीतिका प्रतिबद्धता, दोस्रोमा रणनीतिहरु, तेस्रोमा कार्ययोजना र चौथोमा निष्कर्ष राखिएको छ । पाँच प्रमुख रणनीतिको रुपमा स्वतन्त्र र खुला हिन्द प्रशान्तलाई अमेरिकाले जोड दिएको छ । यस्तै, सामूहिक क्षमता तयार गरेमात्रै स्वतन्त्र र खुला हिन्द प्रशान्त प्राप्त हुने जनाइएको छ । त्यसका लागि सरकारहरुसँग मात्र नभई यस क्षेत्रका जनतासँग पनि सम्पर्क बनाउने उद्देश्य रणनीतिमा राखिएको छ ।

अमेरिकाले आफ्नो रणनीतिअन्तर्गत हिन्द प्रशान्त क्षेत्रको आर्थिक समृतिका लागि लगानी बढाउने भएको छ । यस्तै हिन्द प्रशासन्त क्षेत्रको सुरक्षा सुदृढीकरण र २१ औं शताब्दीका बहुराष्ट्रिय चुनौतको क्षेत्रीय सामना गर्ने पनि रणनीति छ । त्यसका लागि हिन्द प्रशान्त क्षेत्रमा थप शक्ति विस्तार, आर्थिक वृद्धिका लागि व्यापार व्यवसाय र लगानी, यस क्षेत्र र आफने साझेदारका लागि प्रतिरोध गर्ने, अमेरिका–एसियान पहलामा १० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्ने, क्वाडलाई जोड दिने अमेरिका, जापान र दक्षिण कोरियाको सहकार्य बढाउने जस्ता कार्ययोजना तय गरिएको छ ।

अमेरिकाले आफ्नो विदेश रणनीतिअनुसार नयाँ अवधिमा प्रवेश गरेको र दोस्रो विश्वयुद्धपछि अहिले हिन्द प्रशान्त क्षेत्रमा सबैभन्दा बढी अमेरिकाको भूमिकाको माग भएको जनाएको छ । कूटनीति, सुरक्षा, अर्थशास्त्र, जलवायु, महामारीको प्रतिक्रिया र प्रविधिमा नेतृत्व गर्ने पनि जनाइको छ ।

क्वाड बैठकको पनि चिन्ता
हाल अस्ट्रेलियामा क्वाडमा आबद्ध राष्ट्रका विदेशमन्त्री स्तरीय वार्ता चलिरहेको छ । क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत आबद्ध छन् । बैठकमा विदेशमन्त्रीहरुले चीनको बढ्दो भूमिकालाई लिएर चिन्ता व्यक्त गरेका थिए । बैठकबारे शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले क्वाड चीनलाई नियन्त्रण गर्न बनेको बताए । यसले अन्तर्राष्ट्रिय एकजुटता र सहयोगलाई कमजोर बनाउने र टकराव बढाउने उनले आरोप लगाए ।

दक्षिण एसियामा प्रभाव
अमेरिकाको नयाँ प्रतिवेदनले पक्कै पनि दक्षिण एसियामा प्रभाव पर्ने भएको छ । भारतसँगको साझेदारीसँगै अमेरिकाले यो क्षेत्रका अन्य मुलुकसँग आर्थिक तथा अन्य सहकार्य र लगानी गर्ने जनाएको छ । अर्कोतर्फ यो प्रतिवेदनले चीनको बढ्दो भूमिकालाई पनि रोक्ने मुख्य लक्ष्य राखेको छ । यसले अबका केही दशक यो क्षेत्रमा अमेरिका र चीनको टकराब बढ्ने निश्चिछ । यसले मुलुकहरुबीच विभाजन त ल्याउने नै छ, नेपालजस्ता देशहरुलाई पनि आफ्नो पक्षमा पार्न दबाब, प्रभावहरु पनि जारी रहनेछ ।

अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश
अमेरिका-मेक्सिको सीमामा उभिएको चराको तस्बिर यो वर्षकै उत्कृष्ट

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार