नयाँ नेतृत्व आएसंगै फेरियो काँग्रेस जिल्ला कार्यालय ललितपुरको मुहार



ललितपुर । नेपाली कांग्रेस ललितपुरको नयाँ नेतृत्व चयन भएसंगै जिल्ला पार्टी कार्यालयमा समेत नयाँ चमक छाएको छ । नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट जिल्ला सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ सहितको नयाँ टिम निर्वाचित भएपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको समेत नियमित चहलपहल बढेको बताउँछन् जिल्ला सदस्य गणेशकुमार महत ।

अधिवेशन अघिसम्म पनि कांग्रेस जिल्ला कार्यालयमा पुग्दा खासै चहलपहल हुँदैनथ्यो । कार्यालयको परिसरमा उम्रिएका झारपात, भित्ताभरी टाँसिएका कागजात, कलर नलगाईएका भित्ता, राम्रोसँग सरसफाइ नगरिएका कोठा, कोठाभित्रै असरल्ल छरिएका कागजात पत्र, थोत्रा कुर्सीले नै पनि काँग्रेस जिल्ला कार्यालयको शोभा घटाउन सहयोग पुर्‍याइरहेको थियो । तर नयाँ नेतृत्व आएसंगै यो सबै कुरामा परिवर्तन भएको छ।

सभापति बस्ने गरेको थोत्रो कुर्सी र रंगरोगन नगरिएको पुरानो टेवल हराएको छ। त्यहाँ नयाँ कुर्सी र नयाँ टेवलले सजिएको छ। प्लास्टिकका कुर्सीहरु भएको कोठा भरि सोफाले भरिएको छ । कार्यालयको भवनमा छिर्ने बित्तिकै भर्याङ्ग देखि नै रातो कार्पेट विछ्याइएको छ। जसले कार्यालयमा पस्दा नेता तथा कार्यकर्ताहरुमा नयाँ उत्साह पैदा हुन्छ । कार्यालयको पहिलो तल्लामा भएका तीनवटा कोटाहरुमा सभापति सहित पदाधिकारीहरुका लागि आकर्षक कुर्सी, टेवलको व्यवस्था छ। बरण्डामा तातो र चिसोपानीको व्यवस्थापन गरिएको छ । पार्टी, भातृ तथा सुभेच्छुक संघसंस्थाहरुको बैठक र सामान्य कार्यक्रमहरु गर्नका लागि दोस्रो तल्लामा हलको व्यवस्था छ। पार्टी कार्यालयको भवनमा झुण्ड्याइएका अव्यवस्थित वोर्डहरु हटाइएका छ। कार्यालय भवन रंगरोगन गरेर सजाइएको छ ।

पार्टी कार्यालयको सजावटसंगै पार्टी संगठनलाई पनि चलायमान बनाउने बताउँछन् सभापति जितेन्द्र कुमार श्रेष्ठ । सभापति श्रेष्ठ भन्छन्, ‘नेपाली कांग्रेसको विधान र नियमावली अनुसार पार्टीमा सबै नेता तथा कार्यकर्ताहरुको योग्यता, क्षमता र दक्षतालाई उचित रुपमा सदुपयोग गरेर संगठनलाई चलायमान बनाउन लागि पर्नेछु।’

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार