अब गेसपेपर, गाइड वा पाठ्यक्रमसँग मिल्दोजुल्दो पुस्तक लेख्ने लेखक विज्ञ सूचीमा नपर्ने



काठमाडाैं । शिक्षक सेवा आयोगले गेसपेपर, गाइड वा पाठ्यक्रमसँग मिल्दोजुल्दो पुस्तक लेख्ने तथा कोचिङ कक्षा पढाउने व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको छ । आयोगले आगामी चैतमा हुने शिक्षक पदको परीक्षाका लागि प्रश्नपत्र बनाउँदा, उत्तरपुस्तिका जाँच्दा, अन्तर्वार्ता लिँदा त्यस्ता व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको आयोगका अध्यक्ष मधु रेग्मीले बताए ।

उनले भने, ‘हाम्रो कोड अफ कन्डक्ट अनुसार गेस पेपर, गाइड, कोचिङ कक्षा लिने व्यक्तिहरुलाई विज्ञको रुपमा छनोट नगर्ने निर्णय गरिएको हो ।’ आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक तहमा शिक्षक पदमा दरबन्दी खोलेसँगै शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुनुका साथै तयारी कक्षाको लागि आवश्यक सामग्री, परीक्षा सहयोगी पुस्तिका जस्ता सामग्री बजारमा पाइन थालेका छन् ।

अध्यक्ष रेग्मीले भने, ‘यस्ता कार्यमा सहभागी व्यक्तिलाई विज्ञको रुपमा बोलाउँदा फेयर प्ले नहुने जोखिम हुने भएकोले नबोलाउने नीति लिएका हौं ।’

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार