उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली



काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार