मुलुकभर एकैदिन थपिए १२३३८ जना कोरोना संक्रमित, ४ संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भए, ४ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ४९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २७ हजार ४९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५९ लाख ८३ हजार ०२८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार