जहाँ कोरोना भाइरसभन्दा सरकार एक कदम अगाडि छ



जनवरी २३ मा सिंगापुरमा पहिलो कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेका थिए । हालसम्म त्यहाँ ३ सय ४५ जना संक्रमित भएका छन्। जसमध्ये १ सय ९६ जना अस्पतालमा उपचार गराइरहेका छन्। संसारका प्रमुख आर्थिक केन्द्रमध्ये एक सिंगापुरको बाहिरी विश्वसँग अत्यन्त बाक्लो सम्पर्क छ। तथापि त्यहाँ निकै कम मानिस संक्रमित भएका छन्। अझ महत्वपूर्ण, हालसम्म सिंगापुरमा भाइरसबाट कसैको ज्यान गएको छैन। सिंगापुरभन्दा धेरै पछि संक्रमित भेटिएका इटली, फ्रान्स, जर्मनीलगायत मुलुकमा तीव्र गतिमा संक्रमण विस्तार भएको छ। सिंगापुरले कडा लकडाउन नै नगरी भाइरसको विस्तारलाई रोक्न सकेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सिंगापुरको प्रशंसा समेत गरेका छन्।

जनवरीको मध्यमा चीनको गुआङ्सीबाट २० जना चिनियाँ पर्यटकको एउटा समूह सिंगापुर घुम्न आएको थियो। सिंगापुरमा थुप्रै ठाउँ घुमेका उनीहरु चिनियाँ परम्परागत औषधि पाइने एउटा पसल पनि पुगेका थिए। फेब्रुअरी सुरु भएपछि ती पर्यटकमार्फत सिंगापुरमा कोरोना भाइरस सरेको पत्ता लाग्यो। उनीहरुलाई घुमाउने गाइडदेखि लगेर पसलकी सेल्स वुमनसम्म गरी ९ जना संक्रमित भएका थिए। तर, सरकारले तत्काल कदम चाल्यो र त्यहाँ महामारी फैलिन पाएन। त्यसको एउटै कारण थियो, भाइरस फैलिनुअघि नै सरकारले संक्रमितको नजिक पुगेका सबैको पहिचान गरी तिनलाई एक्ल्याउनु। र, यो काम गरिरहेका छन्, सिंगापुरका जासुसले। उनीहरुले प्रहरी अनुसन्धान, सीसीटीभी फुटेज, आदिको सहारामा सम्भावित संक्रमित फेला पारिरहेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार सिंगापुरले आफ्नो चिकित्सक टोलीलाई बिरामी भएर आउने हरेक व्यक्तिबारे सम्पूर्ण जानकारी संकलन गर्न दुई घण्टाको समय छुट्याएको छ। त्यो अवधिभित्र सो व्यक्ति कसरी संक्रमित भयो, ऊ कहाँ गएका थिए, कुन ट्याक्सी चढेको थियो, उसका कारण संक्रमणको जोखिममा को को छन्, जस्ता विवरण पत्ता लगाइसक्नुपर्छ। यस्ता प्रश्नको जवाफ दिन नसक्ने बिरामीबारे अनुसन्धानमा प्रहरी र गुप्तचर निकायले सघाउँछन्। पश्चिमा मुलुकहरु महामारीसँग संघर्ष गरिरहेका बेला तीव्र गतिमा संक्रमित खोज्ने र संदिग्धको परीक्षण गरिहाल्ने सिंगापुरको रणनीति सफल देखिएको छ। कोरोना भाइरसविरुद्ध सिंगापुर मोडल प्रभावकारी देखिएको छ।

‘हामी भाइरसभन्दा एक वा दुई कदम अघि रहन चाहन्छौं,’ सिंगापुरको सरुवा रोग विभागका निर्देशक वर्नोन लीले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘भाइरसलाई पछ्याउन थाल्यौँ भने त पछि परिहाल्छौँ नि।’ यहाँ खासगरी सावधानीपूर्ण ट्रयाकिङ, अनिवार्य क्वारेन्टाइन र सचेतनापूर्वक सोसल डिस्ट्यान्सिङले महत्वपूर्ण भूमिका खेलेको विज्ञहरुको भनाइ छ। संक्रमित व्यक्ति आउजाउ गर्ने, काम गर्ने, खेल्ने र खाने सबै स्थानबारे तत्काल विवरण सार्वजनिक गरिन्छ। जसका कारण अरुले आफूलाई ती स्थानबाट टाढै राख्न सम्भव हुन्छ। रोगीका नजिकको सम्पर्कमा भएकाहरुलाई संक्रमण फैलिन नदिन क्वारेन्टाइनमा राखिन्छ। सरकारले बाहिरबाट संक्रमित भित्रिन नदिन सीमामा कडाइ गरेको छ।

यस्तै विधि ताइवान र हङकङले पनि अपनाएका छन्। त्यसैले अमेरिकालगायत मुलुकमा पनि त्यही मोडल अपनाउनुपर्ने आवाज सुनिन थालेका छन्। तर, यी अत्यन्त साना क्षेत्रको प्रयोग विशाल जनसंख्या भएका र व्यक्तिगत तथ्यांकमा सरकारको पहुँचको विरोध हुने मुलुकमा दोहोर्‍याउन सम्भव नरहेको तर्क पनि गरिँदै आएको छ। किनभने रोग नियन्त्रणको विषयले व्यक्तिगत स्वन्त्रतालाई पनि कुण्ठित तुल्याउन सक्छ। सम्पन्न र व्यवस्थित सिंगापुरले सार्वजनिक स्वास्थ्य प्रणाली निर्माण गर्नका लागि वर्षौँ लगाएको छ। यो अवधिमा उसले अनुगमन प्रणाली पनि आधुनिक बनाएको छ।

व्यक्तिगत गोपनीयतालाई भन्दा आम नागरिकको भलाइलाई यहाँ प्राथमिकता दिइएको छ। संसारको सबैजसो स्थानमा उडान हुने र बढी जनघनत्व भएका कारण सिंगापुर संक्रमणको उच्च जोखिम रहने गरेको छ। त्यसैले यहाँ सामान्य अवस्थामा पनि राम्रो पूर्वतयारी गरिएको थियो। चीनमा श्वासप्रश्वास सम्बन्धी रहस्यमय रोगको बारेमा हल्ला चल्नेबित्तिकै सिंगापुरले चाँडै कदम चालिहाल्यो। उसले सुरुमै चीनको यात्रामा प्रतिबन्ध लगायो। देशभित्र आउनेहरुको थर्मल स्क्यानरबाट ज्वरो नाप्न थालेको थियो। ५७ लाख जनसंख्या भएको सिंगापुरले तीव्र गतिमा आफ्नो क्षमतालाई विस्तार गरेर कोरोना भाइरसको जाँच गर्ने क्षमता प्रतिदिन २ हजारभन्दा बढी पुर्‍यायो। अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य वासिंगटनमा सार्वजनिक प्रयोगशालाले एक दिनमा चार सय जाँच गर्ने लक्ष्य लिएको छ। त्यसमाथि सिंगापुरमा सबैको जाँच निशुल्क हुन्छ।

जनवरीमा जनवरीमा दर्जनौँ संक्रमित फेला परेपछि यहाँ व्यापक र निशुल्क जाँच गरिएको थियो। लक्षण नदेखिएका मानिसमा शंकाकै भरमा पनि कोरोनाको परीक्षण गरिएको थियो। जुन, अन्य मुलुकमा भएको भए पत्ता नै लाग्ने थिएन। त्यसैकारण स्थानीय रुपमा हुने संक्रमणको विस्तार धेरै हुन पाएन। सिंगापुरमा रहेका सबै निमोनियाको रोगी, गम्भीर रुपमा बिरामी सबैको कोरोना भाइरसको जाँच गरिएको थियो। विमानस्थल, सरकारी क्लिनिकमा कोरोना संक्रमित भेटिएपनि सबैभन्दा बढी कन्ट्रयाक्ट ट्रेसिङबाटै फेला पारिएको थियो। करिब पाँच हजारलाई आइसोलेसनमा राखिएको थियो। क्वारेन्टाइनको आदेश नमान्नेलाई आपराधिक अभियोग लगाइन्छ।

‘इटली, कोरिया र इरानमा संक्रमण फैलिनुपूर्व चीनबाहिर सबैभन्दा प्रभावित सिंगापुर नै थियो,’ सिंगापुरको ड्युक नेसनल युनिभर्सिटीका लिन्फा वाङले भने, ‘तर, हामी संकटमा छौँजस्तो लागेन। किनभने सरकार निकै पारदर्शी छ। ट्रयाकिङ गर्ने र सबैलाई आइसोलेसनमा राख्ने काम प्रभावकारी छ।’ बाँकी विश्वमा भन्दा विपरीत सिंगापुरवासीले मास्क लगाएका छैनन्। किनभने सरकारले त्यो आवश्यक छ भनेको छैन। अधिकांश स्कुल सञ्चालनमा छन्। यद्यपि भीडभाड कम भएको छ। बजारमा ट्वाइलेट पेपरको हाहाकार पनि भएको छैन।

सिंगापुरले यस्तो राम्रो तयारी सन् २००३ को सार्स महामारीदेखि नै थालेको थियो। त्यसबेला २ सय ३८ जना संक्रमित मध्ये ३३ जनाको मृत्यु भएको थियो। हङकङमा जस्तै सिंगापुरमा पनि धेरै स्वास्थ्यकर्मीको ज्यान गएको थियो। हङकङमा पनि झण्डै तीन सयको ज्यान गएको थियो। यसपटक हङकङले पनि चाँडै कदम चाल्यो। प्रकोप फैलिनेबित्तिकै सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आदेश दिइयो। त्यसलाई अन्य कम्पनीले पछ्याए। जनवरीबाटै अप्रिलको अन्त्यसम्म स्कुल विदा दिइयो।

त्योभन्दा पनि चाँडो कदम ताइवानले चाल्यो। ताइवानमा सार्सको कारण ३७ जना मृत्यु भएपछि स्थापना गरिएको हेल्थ कमान्ड सेन्टरले गत डिसेम्बरको अन्तिमबाटै वुहानबाट आउने यात्रीको स्क्रिनिङ गर्ने आदेश दियो। जनवरीको अन्त्यसम्म पुग्दा ताइवानले चीन जाने सबै उडान रोकेको थियो। विश्व स्वास्थ्य संगठनले समेत त्यस्तो नगर्न सुझाव दिएको थियो। मंगलबारसम्ममा ताइवानमा ७७ जना संक्रमित भेटिएका छन्।

(न्युयोर्कटाइम्स र अन्य एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार