चापागाउँमा प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता सुरु



ललितपुर । ललितपुरको चापागाउँमा प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा चौथो मेयर कप क्योकुशिन कराते प्रतियोगिता सुरु भएको छ। नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउण्डेशनको आयोजना आज पौष २३ गते शुक्रबारबाट सुरु भएको प्रतियोगिता भोली शनिबारसम्म चल्ने छ। प्रतियोगितामा देशभरका १२० जनाभन्दा बढि खेलाडीहरुले भाग लिएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ अण्डर ३० केजी, ३५, ४०, ४५, ५० र ५५ केजीका साथै खुला तौल समूहमा समेत प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ४० केजी, ५० केजीका साथै खुला तौल समुहमा समेत प्रतिस्पर्धा हुनेछ। आज प्रतियोगिताका प्रारम्भिक खेलहरु सम्पन्न भएका छन्। भोली फाइनल चरणका खेलहरु हुने छ।

प्रतियोगिातको उद्धघाटन समारोहमा सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले प्रत्येक वर्ष राष्ट्रियस्तरको प्रतियोगिता हुनु सकरात्मक भएको बताए । नगर प्रमुख महर्जनले भने “खेलाडीहरुलाई खेलकुदका प्रशिक्षण मात्रै भएर पुग्दैन, हरेक वर्ष स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आयोजना गरेर प्रतिभा प्रदर्शन गर्ने अवसर समेत पाउनु पर्छ ।’’

नगरप्रमुख महर्जनले खेलमा हार जीत स्वभाविक भएको औंल्याउँदै जित्नेले प्रेरणाका रुपमा लिनुपर्ने र हार्नेले अझै मेहनत गर्नुपर्ने रहेछ भनेर प्रभावकारी रुपमा क्रियाशील हुनुपर्ने बताए । खेलकुदको विकासमा लागि गोदावरी नगरपालिकाले हरेक वर्ष खेलकुदका प्रतियोगिताहरुलाई निरन्तर रुपमा सहयोग गर्दै आएको पनि नगरप्रमुख महर्जनले बताए ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार