चैत ९ गतेदेखि २१ गतेसम्म यी १९ अत्यावश्यक सेवाबाहेक अरु सेवा बन्द



सरकारले कोरोनाभाइरस स्वास्थ्य महामारीबाट बच्नका लागि १९ किसिमका अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । संघ, प्रदेश तथा स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे । अत्यावश्यक सेवामा परे पनि चैत १० गतेदेखि देशभरि चल्ने लामो दूरीको यातायात पनि बन्द गरिएको छ । यी अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिनुको अर्थ सरकारले आंशिक ‘लक–डाउन’को घोषणा गरेको हो ।

नेपाल राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाहरुः*
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. औषधि निर्माण तथा बिक्री वितरण सेवा
१४. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१९. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१९.मौसम पूर्वानुमान, बाढी, पूर्वानुमान तथा पूर्वसूचना सेवा ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार