‘संसद् अवरोध चुनावसम्म’ : ओली



विराटनगर । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेसम्म संसद अवरोध जारी राख्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले संसद अवरोध कहिलेसम्म भनेर राखेको प्रश्नमा अध्यक्ष ओलीले ‘आगामी चुनावसम्म’ भनेर जवाफ दिएका छन् । सञ्चारकर्मीको प्रश्न थियो– संसद अवरोध कहिलेसम्म रु अध्यक्ष ओलीको जवाफ थियो– चुनावसम्म ।

त्यसपछि पत्रकारहरुले थप प्रश्न गरे– चुनाव अगाडिसम्म संसद चल्दैन त ? अध्यक्ष ओलीले प्रश्नको जवाफमा बलजफ्ती संसद चलाइएकोले संसद अवरोध भइरहेको सुनाए । उनले भने, ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन् ।’

गत भदौमा एमालेले १४ सांसदलाई पार्टीबाटै निष्कासन गरेर कारबाही पत्र सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी दिएको थियो । तर, सभामुख सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले निरन्तर कारबाहीको मागसहित संसद अवरुद्ध गर्दै आएको छ । एमालेले २३ भदौदेखि हालसम्मको संसद् बैठकसम्म लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार