महामन्त्रीमा गगन थापाको जित सुनिश्चित, विश्वप्रकाश शर्माको सम्भावना पनि बलियो



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि हुनुहुन्छ भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लैजानुभएको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ ।

तेस्रो स्थानमा रहेका डा.प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा.मिनेन्द्र रिजालको ५४६ र डा ।राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा.शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुनुहुन्छ । त्यसैगरी डा। कोइराला समूहबाट अर्का उम्मेदवार डा। मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको समूहबाट डा। राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसको विधानअनुसार महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापति र उपसभापतिको मतगणना सकिसकेको छ । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार