तीन महिना संकटकाल लगाउने तयारीमा सरकार, प्रधानमन्त्रीले आजै देशबासीका नाममा सम्बोधन गर्ने



७ चैत,काठमाडौं । कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको सरकारले थप जोखिम नमोल्ने नीति लिएको छ । मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय बैठक बोलाएका छन् । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिएका छन् । कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहेका उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ उच्चस्तरीय समन्वय समितिको बैठक राखेर थप निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) नियन्त्रणको लागि सरकारले तीन महिनासम्मको संकटकाल घोषणा गर्ने गृहकार्यमा जुटेको बताइएको छ । संकटकाल तयारीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श समेत थालिसकेको बालुवाटार निकट उच्च स्रोतको दावी छ ।

सम्पूर्ण उद्योग, कलकारखाना र व्यवसायमा कोरोनाको प्रभाव परिसकेकोले यदि भोलिका दिनमा संकटकाल घोषणा गरिए उक्त अवधिभर बैंकका ब्याज मिनाहा गर्ने र तीन महिनाको घरबहाल मिनाह गर्ने प्रधानमन्त्री ओलीको योजना छ । यसको लागि उनले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्शसमेत थालेका छन् । प्रधानमन्त्री ओलीले आजै देशबासीका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार