‘यो देशमा माओको गुणगान गाउन हुने तर राजा महेन्द्रको किन नहुने ?’ : अध्यक्ष मिश्र



काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूले राजा महेन्द्रको गुण गाउन नछाड्ने बताएका छन् । ललितपुरको जावलाखेलमा भएको पार्टी एकता कार्यक्रममा अध्यक्ष मिश्रले देशमा माओका माला लगाउनेहरुले पृथ्वीनारायण शाह र राजा महेन्द्रलाई गाली गरिरहेको आरोप लगाए।

उनले भने, ‘माओको माला लगाएर महेन्द्रलाई सराप्ने चाहि राष्ट्रवादी कसरी हुनसक्छ ? यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने?’ देश हिन्दु राष्ट्र हुँदा कसैलाई पनि धर्मको नाममा हानी र घात नभएको दाबी गर्दै अध्यक्ष मिश्रले जनताको मन दुखेको बताए । धर्मका विषयमा जनताको मत बुझ्नुपर्छ भन्दा किन अरुको टाउको दुखेको भन्दै उनले प्रश्न गरे ।

देशमा शान्ति स्थिरताका लागि धर्मको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउँदै उनले संघीयताको खर्च देशले धान्न नसक्ने भन्दै खारेज गर्न माग गरे । यदि जनमत संग्रह गर्न नहुने हो भने संविधानको यसको प्रावधान किन राखेको भन्दै उनले जनमत संँग्रह लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको बताए । उनले नेपालमा धर्म निरेपक्षता लाद्न विदेशी एजेन्टहरुले ठूलै दौडधूप गरेको भन्दै आफूहरुलाई क्रिश्चियनको एजेन्ट भन्नेहरुलाई समेत प्रमाणित गर्न चुनौति दिएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार