कसले जित्ला राप्रपाकाे लिगलिगे दाैड, मैदानमा थापा र लिङ्देन !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । राप्रपामा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ ।

चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक महाधिवेशन भइरहेको हो । काठमाण्डौमा भइरहेको महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार