हातमा सीप र मनमा जोस-जाँगर : जुत्ता, चप्पल सि’लाएरै मासिक ५० हजार कमाइ



लमजुङ– सुन्दरबजार नगरपालिका–८, कुसु=ण्डेका टेकबहादुर नेपालीले चार दशकभन्दा धेरै समय गाउँघरमै कर्मी काम (काठको काम) गर्नुभयो। त्यस समयमा काम अनुसारको कमाइ राम्रै थियो । कमाइले घर–व्यवहार राम्रैसँग चलेको थियो । तर बिस्तारै धमाधम फर्निचर उद्योग खुल्न थालेपछि गाउँघरमै काम पाउन मुस्किल पर्यो । ‘फर्निचर धेरै खुले, हामीलाई काम पाउनै गाह्रो’ उहाँले भन्नुभयो ।

कर्मी काम पाउन छाडेपछि उहाँले पुर्ख्याैली पेशालाई निरन्तरता दिने सोच बनाउनु भयो । कर्मी काम गर्दा पनि उहाँ बेलाबेला जुत्ता चप्पल सिलाउने काम गर्नुहुन्थ्यो। त्यतिबेला काम गरेबापत अन्न पाइन्थ्यो । पैसा मिल्दैनथ्यो । ‘बालीमा धेरै समय काम गरियो। वर्ष भरि केही पाथी धान पाइन्थ्यो । बालीमा काम गर्दा गुजारा चलाउन साह्रै गाह्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो । दुःख धेरै, तर कमाइ चाहिँ कम हुने भएपछि उहाँले पुख्र्यौली पेशालाई व्यवसायमा बदल्नु भयो ।

मासिक ५० हजार कमाइ : सुन्दरबजार नगरपालिका–९, सिउँडीबार चोकमै उहाँले आफ्नै लगानीमा सात वर्ष देखि ‘सुज सेन्टर’ चलाउँदै आउनु भएको छ । उहाँले जुत्ता– चप्पल मर्मत तथा बिक्री गर्नु हुन्छ । ‘चोकमै पसल छ । हर्राबोट, कुन्छा, सुन्दरबजार, दुराडाँडा, सिउँडीबार, भोटेओडार लगायतका ठाउँबाट मानिसहरु जुत्ता–चप्पल सिलाउन आउँछन् । नयाँजुत्ता–चप्पल पनि किनेर लैजान्छन्,’ उहाँले भन्नुभयो ।

उहाँले एकजोर जुत्ता सिलाएको १ सय ३० रुपैयाँ र चप्पल सिलाएको १ सय रुपैयाँ लिनुहुन्छ । ‘जुत्ता–चप्पल मर्मतका साथै बिक्रीबाट मासिक झण्डै ५० हजार कमाई हुन्छ,’ उहाँले भन्नुभयो। यस व्यवसायमा लागेपछि समयको सदुपयोगसंगै अर्थोपार्जन समेत भएको उहाँ बताउनुहुन्छ । ‘उमेर घर्किदैँ गयो । बल–जोडको काम गर्न सकिँदैन । त्यसैले पुर्ख्याैली पेशालाई व्यवसायिक रुपमा सञ्चालन गरेको छु’

उहाँले थप्नुभयो, ‘बसिबियाँलो भएको छ, साथमा कमाइ पनि । यस व्यवसायबाट राम्रै कमाइ छ ।’ हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानुनपर्ने उहाँ बताउनु हुन्छ। ‘गर्न सक्नेलाई यहीँ पैसा छ । हातमा सीप र मनमा जोस–जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो । श्यामशितल परियारले उज्यालोमा खबर लेख्नु भएको छ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार