ओलीलाई नेम्वाङको सन्देश : ‘अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए चुनाव लड्छु’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइसकेको छ । यसैबीच नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको दाबी नछाडेपछि ओलीले आज बिहान १० बजे प्रस्तुत गर्ने भनिएको सूची अहिलेसम्म तयार हुन नसकेको बताइएको छ ।

नेम्बाङले आज बिहान प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत् अध्यक्ष ओलीलाई आफ्नो सन्देश पठाएका छन् । उनले आफ्नो सन्देशमा अध्यक्ष ओलीलाई अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए आफू चुनाव लड्ने सन्देश पठाएका बताइएको छ ।

त्यसोत नेम्वाङले अध्यक्ष ओलीबाहेक आफूभन्दा माथि कुनै नेता नभएको बताउँदै अरू कसैलाई आफूमाथि राखेर सहमति नहुने सन्देश ओलीलाई दिइसकेका छन् । ओली र नेम्वाङ एउटै होटलमा बसेपनि उनीहरूबीच प्रत्यक्ष कुरा हुन सकेको छैन ।

त्यसोत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले पनि दाबी गरेका छन् । यता अध्यक्ष ओलीले भने यसअघि नै नेम्वाङलाई पार्टीले अवसर पाए उनलाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । तर, नेम्वाङले ओलीको उक्त प्रस्ताव यसअघि नै अस्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार