ओली ‘सबै सहमति भयो’ भन्ने, रावल भोट माग्दै हिँड्ने !



काठमाडौं । नेकपा एमालेका दशौं महाधिवेशनको बन्द सत्र सुरु हुनुपूर्व चितवको सेभेन स्टार होटेलमा प्रवेश गरेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सबै सहमति भएको बताएका छन् । शनिबार बन्द सत्र हलभित्र छिर्नुअघि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले पदाधिकारी चयनमा सबै सहमति भएको बताएका हुन् ।

अध्यक्ष ओलीलाई बन्दसत्र हलमा प्रवेश गर्दै गर्दा घेरेका सञ्चारकर्मीहरुले सोधेका थिए, ‘सहमति भएको हो ?’ प्रश्नको जवाफमा ओलीले भने, ‘हो,सबै भयो ।’ तर, यता अध्यक्ष पदका लागि उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावल आफ्ना लागि भोट माग्दै हिँडिरहेका छन् । उनले सञ्चारकर्मीसँग आफ्नो उम्मेदवारी फिर्ता नभएको बताएका छन् ।

भोट माग्दै हिँडेका उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘जनताको बहुदली जनवाद स्वच्छ प्रतिस्पर्धा पहिले नै घोषणा गरिसकेको छु। अध्यक्षको पदबाट उम्मेदवारी फिर्ता लिँदिन ।’ सञ्चारकर्मीलाई अध्यक्ष ओलीले सबै सहमति भएको र सहमतिबमोजिम पदाधिकारी चयन हुने दाबी गर्दा रावलले भने उम्मेदवारी फिर्ता नहुने बताएका छन् । यसअघि रावलले एकै भोट आए पनि चुनावी प्रतिस्पर्धामा भिड्ने भनेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार