माधव नेपालको व्यङग्य : एमालेले जनता नपाएर गैंडालाई झण्डा बोकायो



चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपा (एमाले)को दशौं महाधिवेशनलाई लिएर व्यङग्य गरेका छन् । चितवनको भरतपुरमा शुक्रबार दिउँसो जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनता नपाएर एमालेले क्रान्तिकारी झण्डा दुर्लभ एक सिंगे गैंडालाई बोकाएको व्यङग्य गरे । ‘त्यो एमालेको झण्डा कसले बोकेको छ रु त्यो मजदुर किसानले बोकेका छैन, माक्सले त त्यो क्रान्तिकारी रातो झण्डा मजदुर किसानलाई बोक्न भन्नु भएको थियो तर यहाँ त मान्छे नपाएर गैंडालाई बोकाई दिए’–अध्यक्ष नेपालले भने ।

उनले थपे–‘एमालेको राम्रो लक्षण देखिदैन, त्यस कारण केपी ओली नेतृत्वको एमाले पतन हुने निश्चित छ ।’ अध्यक्ष नेपालले गल्ती विचार दिएमा ती चिज हराउँदै जाने भन्दै अहिले त्यस्तै अवस्थामा एमालेको हालत पुगेको बताए । ‘एमालेको हालत पतनको अवस्थामा छ, कसैले बचाउने वाला छैन’–उनले भने । यस्तै अध्यक्ष नेपालले आगामि निर्वाचनमा एमालेलाई धुलो पार्ने चेतावनी समेत दिए । त्यसको एउटा संकेत राष्ट्रिय सभाको निर्वाचनले देखाएको भन्दै एमाले सकिने अवस्थामा पुगेको बताए । ‘आउने निर्वाचनमा एमालेलाई अलि अलि हैन, धुलो पार्छौ, हेर्दै गए हुन्छ’–आक्रोश पोख्दै नेपालले भने ।

अध्यक्ष नेपालले पार्टीको भविष्य राम्रो भएको भन्दै आगामि निर्वाचनमा कलम चिन्हले बलियो प्रतिनिधित्व गर्ने दावी गरे । कार्यक्रममा अध्यक्ष नेपालले एमाले परित्याग गरेका युवाहरुलाई पार्टी प्रवेश गराएका थिए । यस्तै कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललगायतले मन्तव्य व्यक्त गर्दै एमालेप्रति आक्रोश पोखेका थिए । हतार हतारमा काठमाडौंबाट चितवन आइपुगेका नेपाल भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनपछि हाकिम चोक अवस्थित पार्टी कार्यालयको उद्घाटन गर्न पुगेका थिए । उनले त्यहाँ पार्टीका एक युवा नेताको केक काटेर जन्मदिन मनाउन भ्याए । लगत्तै पार्टीको प्रशिक्षण सहभागि भएर काठमाडौँ फर्किएका छन् ।

यसअघि भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले आफूहरुलाई एमालेको महाधिवेशनमा पाहुना बन्न आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए । चितवनमा हुँदै गरेको नेकपा ९एमाले०को महाधिवेशनमा नेकपा (एस)लाई नबोलाउने भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यो आफ्नो चरित्रलाई आफै उजागर गर्ने काम भएको बताए । आफूहरुलाई महाधिवेशनमा कसैको पाहुना बन्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘हामी आफ्नै काम र धुनमा व्यस्त छौं ।’

उनले नेकपा एमाले अब इतिहासको विषय बन्ने बताउँदै नेकपा एस उदाउँदै जाने दाबी गरे । अहिले आफूहरुको एजेण्डा पार्टी बनाउनेतर्फ रहेको उनले बताए । उनले भने, ‘नेकपा एसको नाम सुन्ने बित्तिकै धेरै मान्छे डराउन थालेका छन् । किनकी सारा जनता र पार्टीको ध्यान यो पार्टीमा परेको छ । यो पार्टीको विकास देखेर धेरैमा ईष्र्या पलाएको छ ।’ उनले नेकपा एसले अबको निर्वाचनमा सबैतिर जित्ने पनि दाबी गरेका छन् । न्यायालयको विवादका बारेमा बोल्दै नेपालले यस विषयमा प्रधानमन्त्री र राजनैतिक दलले पनि एउटा निष्कर्ष निकाल्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार