कोरियाबाट फर्केकालाई पुनः कोरिया जान पुष १ गतेदेखि भाषा परीक्षा



काठमाडौं । दक्षिण कोरियाबाट रोजगारी गरि फर्केकाहरुलाई पुनः कोरिया जानको लागि भाषा परीक्षा हुने भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरि वैधानिक तवरले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । शाखाले एक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरुलाई अनलाइन आवेदन फारम भरी दर्ता गर्न आग्रह गरेको छ ।

एकपटक कोरिया गएर फर्केकाहरुलाई फेरि कोरिया जानको लागि पनि भाषा परीक्षा उत्तिर्ण गर्नुपर्छ । त्यसको लागि कोरियाको मानव संसाधान विकास सेवा एचआरडीबाट सञ्चालन हुने कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षा ‘स्पेसल ईपीएस टोपिक’मा सहभागी हुनुपर्छ ।

मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म आवेदन दर्ता गरिसक्नुपर्ने शाखाले जनाएको छ । आवेदन दर्ता गरिसकेपछि मंसिर २४ मा परीक्षा तालिका घोषणा गरिने र पुष एक देखि सात गतेसम्म परीक्षा सञ्चालन गरिने शाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै एचआरडी कोरिया बाट ‘स्पेसल ईपीएस टोपिक’ परीक्षामा सहभागी हुनसक्ने भनि प्राप्त भएका नामावलीमा आफ्नो नाम यकिन गरेर मात्र आवेदन भर्न शाखाको अनुरोध छ ।

सूचना विस्तृतरुपमा हेर्नुहोस्

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार