नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक, यसपटक कति पाउला नेपालले कोटा ?



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदारको संख्या बढाउन सकारात्मक रहेको दक्षिण कोरियाले जनाएको छ। परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित नेपाल-दक्षिण कोरिया संयुक्त परामर्श संयन्त्रको पाँचौ बैठकमा नेपाली पक्षले ईपीएसअन्तर्गत नेपाली कामदारको संख्या बढाउन आग्रह गरेको थियो।

बैठकमा ईपीएस सम्बन्धी सम्झौतापत्र सक्दो चाँडो नवीकरण गर्ने सहमति पनि भएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताए। ‘नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरियालाई आग्रह गरेका छौँ, यसमा उनीहरु सकारात्मक छन्,’ थापाले भने।

ईपीएस परीक्षा पास गरिसकेका नेपालीको कोरिया प्रवेशको व्यवस्था चाँडै मिलाउन समेत कोरियालाई आग्रह गरिएको उनले बताए। ईपीएस अन्र्तगत वार्षिक हजारौं नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन्। तर कोरियाले नेपालबाट वर्षेनि यति नै कामदार लिने भन्ने चाहिँ छैन। सन् २००८ यता ईपीएसअन्र्तगत झन्डै ७० हजार नेपालीले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन्।

कोरोना महामारीका कारण कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जान रोकिएका थिए। उनीहरुलाई चरणबद्ध रुपमा कोरिया लैजाने काम अक्टोबर २७ देखि सुरु भइसकेको छ। बैठकमा दक्षिण कोरियाका विदेश मन्त्रालयका दक्षिण एसियाली तथा प्रशान्त क्षेत्र मामिला हेर्ने डाइरेक्टर जनरल सङ र्योल लीले कोरियाली पक्षको नेतृत्व गरेका थिए। उनले नेपाली कामदारले कोरियाली अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। नेपालखबरबाट

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार