गाउँपालिका अधिवेशन उद्घाटन गर्न हेलिकप्टरमा गए गाेकुल बाँस्कोटा, कार्यकर्ता भन्छन् पैसा कहाँबाट आयो ?



पनौती । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा एकाएक कार्तिक १३ गते शनिवार हेलिकप्टरमार्फत काभ्रेको खानीखोला गाउँपालिका पुगे । कार्यक्रम थियो, नेकपा एमाले खानिखोला गाउँपालिकाको प्रथम अधिवेशन । हेलिकप्टरबाट खानीखोला पुगेका बास्कोटाको प्रस्तुतीले आम काभ्रेली जनता तथा स्वयं आफ्नै कार्यकर्ताहरु समेत अचम्मित छन् ।

खानीखोला गाउँपालिकामा जानको लागि हेलिकप्टर प्रयोग गर्नै पर्ने बाध्यता के थियो रु त्यो त उनैलाई थाहा होला । त्यसो बास्कोटा एक्लै भने पुगेका थिएन् । सँगै, माओवादी पृष्ठभूमिका राजकुमार श्रेष्ठ, जिल्लाका नेता धरिना ढकाल र संविधानसभा सदस्य रामहरी सुवेदीसमेत हेलिकप्टर सवार थिए । पूर्व माओवादी कार्यकर्ताहरुलाई यसरी हेलिकप्टर सयर गराउनु त्यो पनि नेकपा माओवादीको पकड क्षेत्र जहाँ अन्य द्वन्द्वकालिन अवस्थामा प्रशिक्षणसमेत दिने गरेको थियो । सो स्थानमा निकै खर्चिलो र तामझाम देखाए ! यसले आम कार्यकर्ताहरुमा बास्कोटा कुन बिचारधारा र कुन सोचका हुन भन्ने कुराको देशैभर चर्चा चलेको छ ।

देशैभर एमालेका नेताहरुको स्वार्थ मिल्दा जुट्ने र फुट्ने प्रकृया चलिरहेको अवस्थामा एउटा प्रतिभा जो मिसन र भिजनसहितको नेता ठानेर निरन्तर साथ दिइरहेका कार्यकर्ताहरुको बिचारमा परिवर्तन आएको कुरा उनकै कार्यकर्ताले बताए । व्यक्तिगत स्वार्थमा होइन सर्वहारा वर्गको साथी भन्दै भाषणबाजी गर्ने नेता यसरी आम नागरिकको पहुँचभन्दा पर उठेको देखेर आफ्नै कार्यकर्ताले समेत आलोचना गर्न थालेका छन् ।

हेलिकप्टर संस्कृतिले साधारण नेतालाई कुन वर्गको रुपमा सम्बोधन गर्ने हो त्यो त आगामी चुनावले देखाउने छ । पार्टीको एउटा मध्यम स्तरको नेता हेलिकप्टर चढेर पालिका स्तरको अधिवेशन उद्घाटन गर्न सवार हुन्छ भने यसले निश्चित रुपका राजनीतिक वृत्तमा केही प्रश्न, केही जिज्ञासा र केही कौतुहलता निम्त्याएको देखिन्छ ।

नेपाली जनता त्यति बुद्धु कहाँ छन् र ? चिया पसलमा र भेलाहरुमा आलोचना गर्न थालिसके । यत्रो पैसा कसरी आयो ? यसको लागि कति खर्च हुन्छ ? यसको हिसाब कहाँ राखिन्छ ? यसको खर्च कसले ब्यहोर्छ ? ब्यक्तिले ब्यहोर्छ कि कमिटीले व्यहोर्छ ? अथवा कुनै तस्कर गिरोहले अपारदर्शी ढंगले व्यहोरेको छ ? भन्ने प्रश्नै प्रश्न आम नेपाली जनमा उब्जेको छ ।

आम कार्यकर्ता र जनताले प्रश्न गर्न थालेका छन्– के हाम्रा कम्युनिष्ट भनिने सर्वहारा कामदार वर्गको प्रतिनिधि पार्टीको हैसियत त्यो स्तरमा पुगिसकेको हो ? होइन भने आफूलाई गरिबको छोरो, रुक्खासुक्खा खाएर गाउँमा हुर्केको हुँ, ठाडो बोल्छु भन्ने नेताको ब्यक्तिगत हैसियत यहाँ कसरी पुग्यो होला र ? बहालवाला मन्त्री भएको भए राज्यको सम्पत्ति दुरुपयोग गरे कि भन्न पनि सकिन्थ्यो ! भ्रष्टाचार गरेर लुकाएको सम्पत्ति हुनु पर्यो कि, कुनै तस्करले फाइदा लिने दिने काममा यिनी मतियार त भइरहेका छैनन्? दृष्टि न्युजबाट

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार