केपी ओली राष्ट्रवादी नेता भएकाले उहाँको पक्षमा उभिएको हुँ – लेखराज भट्ट



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले केपी शर्मा ओलीलाई एक राष्ट्रवादी नेताका रुपमा देखेका कारण उनको साथमा खरो रुपले उभिएको बताएका छन्।

ओलीको गृहनगर झापामा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका भट्टले यस्तो बताएका हुन्। ‘एकताका पक्षधर सबै उभिएका हौं। नयाँ एमाले बनाएर सशक्त रुपमा अघि बढाउने हाम्रो लक्ष्य र उद्देश्य हो’, उनले भने,‘पार्टी अध्यक्षको ओलीको वरिपरि गोलबद्ध हुनुपर्छ।’

राष्ट्रियताको पक्षमा ओलीको अडानकै कारण आफू उनीसँग उभिएको भन्दै उनले एमाले प्रवेश गरेका विभिन्न नेताहरुलाई एमालेमा गोलबद्ध भएर अघि बढ्न आग्रह गरे।

‘सुदूरपश्चिमको मानिसलाई पूर्वमा ल्याएर परिचय गराउने अवसर दिनुभएकोमा अध्यक्ष कमरेडलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने। आफ्नो छोटो सम्बोधनमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै प्रचण्डले के चाहेका थिए भन्ने अहिले देखिएको बताए।

‘प्रचण्ड के हुन् भनेर जनताले बुझेका छन्। ४० वर्षसम्म सहकार्य गरेँ,’ उनले भने, ‘उनको उद्देश्य के थियो लक्ष्य के थियो भन्ने अहिले सबैले देखिसकेका छन।’ प्रचण्डको प्रवृत्ति एकता गर्ने र जहाँ पनि ध्वंस गर्ने रहेको उनको आरोप छ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार