नियमावली संशोधनको पर्खाइमा शिक्षक सेवा आयोग, यस्तो छ अन्तिम तयारी



काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आए पछि शिक्षक सेवा आयोगले नियमावली संशोधनको विषयमा छलफल अगाडि बढाएको छ । नियमावली संशोधन नहुँदा आयोगले लिने आन्तिरिक र खुला प्रतियोगात्मक परीक्षा प्रभावित भए पछि आयोगले छलफल अगाडि बढाएको हो ।

आज शिक्षा मन्त्रीसँगको भेटघाटमा यस विषयमा सामान्य छलफल भएपनि औपचारीक बैठक नभएकाले कुनै ठोस निर्णय नभएको शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताएका छन् । मन्त्रालय सचिवालय र शिक्षक सेवा आयोगको धारणा बुझ्नका लागि बैठक राखिए पनि नियमावली संशोधनको विषयमा आफुले कुरा राखेको रेग्मीले बताए । साथै छिटै मन्त्रिपरिषद्मा लगेर नियमावली संशोधन गर्नु पर्ने कुरामा शिक्षा मन्त्री सकारात्मक रहेको उनले जानकारी दिए ।

शिक्षा मन्त्री देवेन्द्र पौडेल आएसँगै नियमावली संशोधन छिटै हुने र आन्तिरिक र खुला विज्ञापन छिटै खुल्ने धरैको अपेक्षा भएका कारण विज्ञापन गर्नका लागि सम्पुर्ण तयारी पुरा गरेर बसेको आयोगका प्रबक्ता सुदर्शन मरहठ्ठाले बताए । आयोगको तयारी अनुसार याहीनै गर्ने भन्ने कुनै निर्णय नभएपनि सबै भन्दा पहिला बढुवाको विज्ञापन गर्ने की भन्ने विषयमा छलफल भएको जनाएको छ ।

विकास केन्द्रबाट आएको विवरणको आधारमा तुलनात्मक अध्ययन गर्दा खुला विज्ञापनको लागि तिनै तहमा १७,२२३ रिक्त दरबन्दी विवरण प्राप्त भएको देखिन्छ भने बढुवा तर्फ तिनै तहका विभिन्न श्रेणीमा ३,३९० रिक्त पद संख्या रहेको छ । आयोगको आन्तरीक कार्ययोजना अनुसार पद संख्याका आधारमा हेर्दा बढुवा तर्फको विज्ञापन पहिला गर्दा खुला विज्ञापनलाई व्यावस्थापन गर्न समय प्रायाप्त हुने र आयोगले क्रमशः विज्ञापन गर्दे जाने योजना बनाएको छ । तर यसबारेमा छलफल भए पनि निर्णय गर्न भने बाँकी रहेको आयोगले जनाएको छ । साथै नियमावली संशोधन भएर आएपछि यसबारै निर्णय गरिने जनाएको हो ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रले २०७८ चैत्र मसान्तसम्म तिनै तहको तृतीय श्रेणकिो खुला विज्ञापनको लागि रिक्त दरबन्दी विवरण आयोगलाई पठाई सकेको छ । जसमा माध्यमिक तहमा १५,४४, निम्न माध्यमिकमा २,५९४ र प्रथमिकमा १३,०८५ गरी १७,२२३ रिक्त दरबन्दी विवरण पठाएको छ ।

त्यसैगरी २०७८ चैत्र मसान्तसम्म तिनै तहको द्धितीय र प्रथम श्रेणीको बढुवाका लागि माध्यमिक प्रथममा १२६, द्धितीयमा ५४४, निम्न माध्यमिक प्रथममा ८९, द्धितीयमा ४७४ र प्राथमिक प्रथममा ४६४, द्धितीयमा १६९३ गरी ३,३९० रिक्त पद विवरण केन्द्रले पठाएको आयोगले जनाएको छ ।

आयोगले केन्द्रबाट आएको २०७८ चैत्र मसान्तसम्म तिनै तहको तृतीय श्रेणकिो खुला विज्ञापनको लागि विषयगत पद संख्या विवरण तयार पारेको छ । जस अन्र्तगत निम्न माध्यामिक तहको नेपालीमा ४३६,अंग्रेजीमा ६२२, सामाजिकमा ३५३, गणितमा ३७०, विज्ञानमा ४४०, संस्कृत व्याकरण २,शुल्का यजुर्वेदमा १, संस्कृत भाषमा ३,संस्कृत कर्मकाण्डमा १ र संस्कृत साहित्य २ गरी जम्मा २,५९४ पद संख्या रहेको छ ।

त्यस्तै माध्यमिकमा नेपालीमा २३१,अंग्रेजीमा ३१२, सामाजिकमा २०१, गणितमा २८९, विज्ञानमा ४३४, संस्कृत व्याकरण ३, शुल्का यजुर्वेदमा १, संस्कृत भाषमा ३, स्वास्थ्यमा २, शिक्षामा १, कम्प्युटरमा ६, अर्थशास्त्रमा १० , वेदमा १, कार्यलय सञ्चालन तथा लेखामा ४९ र न्यायमा १ गरी १,५४४ विषयगत पद संख्या रहेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार