इतिहास रच्दै नेपाल साफ च्याम्पियनशिपकाे फाइनलमा



काठमाडौं । नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । आज बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । योसँगै नेपालले २८ वर्षको पर्खाइ भङ्ग गरेको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुग्यो ।

खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ७९ औँ मिनेटमा गोलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनको ठाउँमा अशरफुल राना आएका थिए ।

आजको जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेको हो । चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेको हो । फाइनलमा पुग्न नेपाललाई आजको खेलमा कम्तीमा पनि बराबरीको नतिजा चाहिएको थियो । आज हारेको बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियोगिताबाटै बाहिरिएको छ । अब नेपालले फाइनलमा आज नै हुने अर्को खेल ९भारत र माल्दिभ्स० को विजेतासँग खेल्नेछ ।

रोहितले गरे विराजको बराबरी
यसैबीच आजको खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । आजको खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।

रोहितको यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा रोहितलाई उनको कीर्तिमानलाई उछिन्ने मौका छ ।
नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार