भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्छाैँ : कप्तान किरण चेम्जोङ



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत भोलि भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्ने बताएका छन् । शनिबार माल्दिभ्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भोलि हुन गइरहेको भारतविरुद्धको खेल अति महत्वपूर्ण रहेको र खेल जितेर नेपाली दर्शकको सपना साकार पार्ने उनले बताए ।

‘सपना देख्नुपर्छ । सपना देखेपछि नै पूरा हुने हो । सिंगो नेपाली फुटबल समर्थकको सपना साफ जित्ने हो, यो मेरो मात्र सपना होइन र त्यो सपना पूरा गर्नका लागि भोलिको खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यो सपना पूरा गर्नका लागि हामी पूर्ण रुपमा तयार छौं,’ उनले भने ।

भोलि हुने भारतविरुद्धको खेल कठीन भए पनि जितको लक्ष्य लिएको पनि उनले आत्मविश्वास लिएका छन् । ‘भोलिको खेल हाम्रो लागि निकै कठीन छ । हामीले भोलिको लागि राम्रो तयारी गरेका छौँ, उनले भनेका छन्, ‘र, हामीले जितको लक्ष्य लिएका छौँ । हामीले जितका लागि दुई कदम पाइला अगाडि चालिसकेका छौँ र अर्को एक कदम चाल्न चाहन्छौं ।’

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार