दुबईमा वीरगन्जका गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित



वीरगन्ज । फ्रान्सको युरोपियन इन्टरनेशनल युनिभरसिटी पेरिसले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्तालाई ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्ट अन्तर्गत ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित गरेको छ । दुबईस्थित सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित भव्य समारोहबीच गुप्तालाई युनिभर्सिटीले प्रोफेसनल डक्टरल सर्टिफिकेट ‘मनार्थ विद्यावारिधि पद्वी’बाट सम्मान गरेको हो ।

वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याएका उल्लेखनीय योगदानलाई कदर गर्दै युरोपियन इन्टरनेशनल युनिभर्सिटीको मोनिटरिङ्ग बोर्डले गुप्तालाई ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ प्रदान गरेको हो । बारा–पर्साका निजी क्षेत्रका छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षका हैसियतले सुबोध कुमार गुप्ताले प्राप्त गरेको यस किसिमको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान उनको लागि मात्र नभई वीरगन्ज उद्योग वाणिज्य संघ र बारा पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको बिषय रहेको वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल कुमार अग्रवालले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक अध्यक्ष अग्रवालले गुप्ता नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासंघका केन्द्रिय अध्यक्ष भएकोले यो सम्मान राष्ट्रका सम्पूर्ण उद्यमी व्यवसायीको लागि महत्वको बिषय रहेको बताए ।

अध्यक्ष गुप्तालाई यस किसिमको अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्ने युरोपियन इन्टरनेशनल युनिभर्सिटीप्रति वीरगन्ज उद्योग वाणिज्य संघले हार्दिक आभार समेत व्यक्त गरेको छ । गुप्ता वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य, नेपाल चामल, तेल, दाल उद्योग संघका केन्द्रीय अध्यक्षका साथै नेउवामहासंघ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटिका उप–सभापति, नेउवामहासङ्घ–प्रदेश नं। २, नेपाल रेल्वे माध्यमिक विद्यालय, वीरगन्ज र नेपाल रेडक्रस सोसाइटी, पर्साका सल्लाहकारको रुपमा हाल पनि सक्रिय रुपमा आफ्नो भूमिका निर्विहन गरिरहेको कार्यवाहक अध्यक्ष अग्रवालको भनाइ छ ।

उनलाई लायन्स क्लब इन्टरनेशनल, अञ्चल प्रहरी कार्यालय नारायणी, राष्ट्रिय सरोकार मञ्च नेपाल, उद्योग वाणिज्य सङ्घ–सिमरा, नागरिक सरोकार सेवा समाज सुधार समिति, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घ, सानो पाइला, मानव सेवा आश्रम, नेपाल युवा उद्यमी मञ्च, निर्यात व्यवसायी महासङ्घ नेपाल लगायत विभिन्न संघ सँस्थाहरुले विभिन्न समयमा सम्मानित गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार