
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका हुन् ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको वृहत् भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो – सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’
अध्यक्ष ओलीले राजनीतिक शटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गरे । एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए बिचाराहरूको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाएको ओलीले आरोप लगाए । अध्यक्ष ओलीले आफूले बनाइदिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए ।
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फोटो ल्याउने गरिरहेको आरोप लगाए। उनले भने, ‘माके पार्टी, माने पार्टी हेर्नुस् । यी पार्टीले राष्ट्रिय एकताको नभइ फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलब छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलब छैन । स्वाधीनताको मतलब छैन । भौगोलिक अखण्डताको मतलब छैन । राष्ट्रिय हितको मतलब छैन । राष्ट्रिय स्वाभिमानको मतलब छैन । तर त्यसलाई धुजाधुजा पार्ने खेती गरिएको छ । मलाई कुनै कमेन्ट गर्नु छैन । अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुनुहुन्छ उहाँहरू कोही बिकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि । खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीति त्यस्तो होइन । राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होइन । देशलाई एकताबद्ध गर्ने राजनीति हो ।’
अध्यक्ष ओलीले आउँदो मङ्सिरभित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दाबीसमेत गरे । उनले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी सङ्गठन, विद्यार्थी सङ्गठन, युवा सङ्गठनहरूको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्तिसमेत जनाए।
अध्यक्ष ओलीले मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई पदक दिएको भनेर सत्ता पक्षले बिलकुलै झुट बालेको दाबी गरे। आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनको आपत्ति थियो ।
अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रूपमा चित्रण गर्नुभयो । फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको अध्यक्ष ओलीको व्यङ्ग्य थियो । उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरूलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे।