यो सरकारले एमसीसी झुक्याएर पास गर्न खोज्याे : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छनु । काठमाडौं महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले कांग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाएका छन्।

‘कांग्रेस र माओवादी हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न गरे। बिहानसम्म अस्वस्थ रहेका ओली स्वास्थ्यमा सुधार आएपछि कार्यक्रमलाई सम्बोधन गर्न सभा गृह पुगेका थिए ।

ओलीको प्रश्न: चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् । काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले चीनसँग हुँदै नभएको सीमा विवाद अध्ययन गर्न भनेर सरकारले समिति बनाएको भन्दै आपत्ति पनि जनाए ।

उनले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कस्लाई खुसी पार्नको लागि समिति बनाइएको हो ? म चुनौती दिन चाहान्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस ।’ सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाए ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार