आफ्नै जिल्लामा एक्लिए रावल, प्रतिगमनकारी भन्दै सिंगो कमिटी नै एकीकृत समाजवादी तिर लाग्यो !



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नै गृह जिल्ला अछाममा कमजोर देखिएका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल निकट नेता भनेर चिनिएका रावलले पार्टी विभाजन हुंदा साथ नदिएपछि सुदुरपश्चिममा अधिकांश नेता कार्यकर्ताले उनको साथ छोडेका छन् ।

रावल निकट भनेर चिनिएका राष्ट्रिय सांसद शेरबहादुर कुवंरले उनको साथ छोडेर नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी तिर लागेका छन् । उनि एमालेको अछाम जिल्लाको अध्यक्ष समेत हुन । त्यसैगरी प्रदेश सदस्य शंकर भण्डारी पनि समाजवादीमा लागेका छन् । रावलकै निर्वाचन क्षेत्र २ को क बाट निर्वाचित बलबहादुर सोडारी र समानुपातिक सांसद दुर्गाकुमारी कामी र मना साउंदले रावलको साथ छोडेर समाजवादीतिर लागेकी छन् ।

यसअघि रावलको साथमा रहेका जिल्ला कमिटी सदस्यहरु नवराज सांवद, हिरण्य भट्टराई र शिलोज कुवंरलगायतले उनको साथ छोडेर समाजवादी पार्टीमा लागेका छन् । त्यसैगरी अछामका जनप्रतिनिधिहरुले समेत उनको साथ छोडेका छन् । सांफे नगरपालिकाका प्रमुख कुल बहादुर कुवंरले समेत समाजवादी पार्टी रोजेका छन् भने उपप्रमुख बिर्मलादेखी बुढ्थापा भने तटस्थ छिन् ।

अछाममा एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख र एक गाउंपालिकामा अध्यक्ष जितेको थियो । चौरपाटी गाउंपालिकाका अध्यक्ष हर्कबहादुर साउंदले समेत रावलको साथ छोडेका छन् । सुदुरपश्चिममा यसअघि रावलसंगै रहेका १० जना सांसदले उनको साथ छोडेर समाजवादीका पक्षमा सनाखत गरिसकेका छन् भने ३ जना सांसद पर्ख र हेरको अवस्थामा छन् । अर्थराज्यमन्त्री समेत रहेकी सांसद अर्चना गहराजले भने एमालेमै बस्ने बताएकी छन् । उनी पनि समाजवादीतर्फ जान लागेको चर्चा चलेको थियो ।

सुदुरपश्चिममा रावलको पार्टीभित्र बलियो प्रभाव थियो । तर,पछिल्लो समय उनको साथ छोड्नेको संख्या भने बढेको छ । यद्यपी सुदुरपश्चिममा एमालेभित्र केही सांसद र नेता समाजवादीतर्फ लागेपनि एमालेलाई भने ठुलो असर गरेको छैन । सुदुरपश्चिममा माओवादी केन्द्रबाट दुई जना प्रतिनिधीसभा सदस्यहरु लेखराज भट्ट र गौरिशंकर चौधरी र प्रदेशसभामा निर्वाचित झपट रावल एमालेतिर लागेका छन् ।

रावल एमालेभित्र तिव्र मतभेद हुंदा नेपाल पक्षमा लागेका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कटु आलोचक मात्र थिएनन एमालेभित्र समानान्तर कमिटी बनाउन पहल गर्ने पहलकर्ता समेत थिए । तर, नेता नेपालले एमाले विभाजन गर्ने निर्णयको भने उनि विपक्षमा उभिएका थिए।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार