काठमाडौं । सुदूरपश्चिम प्रदेशमा रहेका एमालेका २५ सांसदमध्ये १३ जना नेकपा (एकीकृत समाजवादी)को पक्षमा खुलेका छन् । बुहमत सांसदहरुले एमाले परित्याग गरी एकीकृत समाजवादीको पक्षमा उभिएका छन् ।
एमालेबाट विभाजन भएर बनेको नवगठित पार्टी एकीकृत समाजवादीमा बहुमत सांसद खुलेपछि एमालेका उपाध्यक्ष समेत रहेका भीम रावललाई प्रदेशमा नराम्रो धक्का लागेको छ । रावलले आफ्नै पक्षका नेता र प्रदेश सांसद जोगाउन नसकेको भन्दै पार्टी भित्र नै आलोचना हुन थालेको छ ।
रावललाई छाडेर उनका विश्वास पात्र दीर्घ सोडारी लगायत प्रदेश सरकारका तीन मन्त्री, तीन राज्यमन्त्रीसहित १३ जना सांसदले एमाले छाडेका हुन् । रावलको गृह जिल्ला अछामकी प्रदेश सांसद तथा एमालेकी प्रमुख सचेतक समेत रहेकी दुर्गा विकले भदौ २२ गतेसम्म यो संख्या बढेर जाने दाबी गरिन् ।
निर्वाचन आयोगले २२ गतेसम्म प्रदेश सभा सांसद तथा स्थायनीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय तोेकेका छ । आजै एकीकृत समाजवादी पार्टीका पक्षमा दीर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट खुलेका छन् ।