वार्ता टोलीसँग माधव नेपालको बटमलाइन-१० बुँदे जान्दिनँ, ओलीलाई अध्यक्ष मान्दिनँ



काठमाडौं । दुई अध्यक्षको अन्तरिम व्यवस्था गरेर भए पनि एमालेको एकता कायमै राख्ने दोस्रो तहका नेताहरूको प्रयास लगभग असफल भएको छ । केपी ओली र माधव नेपालबीच वार्ता गराउन निरन्तर लागेका नेताहरूले यस्तो निष्कर्ष सुनाएका छन् ।विघटित कार्यदलका सदस्यहरूबीच शनिवार सिंंहदरवारमा भएको छलफलमा माधव नेपालको बटमलाइनको ब्रिफिङ भएपछि नेपालसहितको एमाले एकताको अध्याय लगभग समाप्त भएको छ ।

दुवै पक्षका नेताहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गरिरहँदा केपी ओली काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै थिए भने माधव नेपाल अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै थिए ।

कार्यदलमा भीम रावल, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको बटमलाइन सुनाइरहँदा नयाँ बजारबाट ओलीको घोषणा आयो- माधव नेपाल जस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई एमालेमा कुनै स्थान छैन । उता माधव नेपालले पनि ओलीलाई फेरि प्रधानमन्त्री बन्न सक्छु भन्ने जालझेल नगर्न चुनौती दिँदै थिए ।

सिंहदरबारमा त्यो ब्रिफिङ
अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएपछि त्यसअघि एकताको उपाय खोज्न विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । १० बुँदे सहमति र दुई अध्यक्ष मानेर एमाले एकता कायम गर्नेबारे छलफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।

तर, विष्टले बताए जस्तो ब्रिफिङ अनौपचारिक छलफलमा भने भएन । विघटित कार्यदलका एक सदस्यका अनुसार माधव नेपालले दश बुँदेमा आफ्नो सहमति नरहेको प्रष्ट पारेका छन् । उनले यो कुरा आफू पक्षधर वार्ता टोली संयोजक भीम रावल र केपी ओली पक्षधर संयोजक सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रष्ट रुपमा बताएका छन् ।

‘माधव कमरेडले दश बुँदे सहमति मैले भने अनुसार छैन त्यसलाई म मान्दिन भन्नुभयो । उहाँले म मिल्न तयार छु र अलग हुन पनि तयार छु । मिल्ने हो भने केपी ओलीले अध्यक्ष छाड्नुपर्छ भन्नुभयो । यो भनेको लगभग माधव नेपालसहितको एकताको च्याप्टर क्लोज हो’ छलफलमा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।

अनौपचारिक छलफलमा ओली पक्षका नेताहरूले माधव नेपालको बटमलाइन आइसकेको भन्दै ‘अब तपाई हामी के गर्ने हो ?’ भन्ने प्रश्न गरेका छन् । नेपाल पक्षका नेताहरूले अझै जवाफ दिएका छैनन् । उनीहरू दुई अध्यक्षमा माधव नेपाललाई मनाउन सकिन्छ भन्नेमा अझै लागेकाले एमालेको वारपार हुन एक दुई दिन थप लाग्ने देखिएको छ ।

यसबीचमा केपी ओलीले भीम रावललाई बोलाएर माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको भन्दै चाँडो टुंगो लगाउन आग्रह गरे । ओलीसँग भेटेपछि रावलले नेपाललाई भेटेर अर्को अध्यक्षमा सहमत हुन आग्रह गरे पनि नेपालले उल्टै रावलमाथि ओलीसँग मिलेमतो गरेको आरोप लगाएको चर्चा चलेको छ ।

माधव नेपालले भने- ओली भन्दा तल बन्दिनँ
नेपाललाई यसबीचमा सुवास नेम्वाङ र विष्णु पौडेलले पनि भेट गरेर अध्यक्ष ओलीसँग संवाद गर्न सुझाए । तर दुवै नेतालाई वरिष्ठ नेता नेपालले आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएका छन् । उनले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेका छन् । यहि कुरा उनले रावललाई पनि बताइसकेका थिए ।

रावलले माधव नेपालको बटमलाइन बुझे पनि नेपाल पक्षकै कतिपय नेताले अझै पनि अर्को अध्यक्षमा मनाउन सकिने आशा राखेका कारण एमाले एकताको नामका वार्ता अझै केही दिन चल्ने सम्भावना छ । ओली पक्षले भने माधव नेपालसहितको एकताको सम्भावना देखेको छैन ।

वार्तामा संलग्न एक नेताले भने-माधव कमरेडले म केपी ओलीको अन्तर्गत बस्दिनँ, दोस्रो अध्यक्ष पनि खान्नँ र म आउदिनँ भन्नुभयो । उहाँले १० बुँदे पनि मान्दिन भन्नुभयो । उहाँ आफ्नो अडानमा प्रष्ट हुनुहुन्छ तर उहाँसँग जोडिएका केही नेताहरू अझै अन्योलमा भएका कारण आज भोलिमै वारपार नहोला ।

माधव नेपाललाई तपाईकै सहमतिमा बनेको कार्यदलले तयार पारेको १० बुँदे मान्दिनँ मिल्छ ? भन्न प्रश्न यसबीचमा केही नेताले गरेका छन् । तर नेपालले जवाफमा भनेका थिए- म किन मान्छु ? मैले यो यो कुरा सच्यानु र यो थप्नु भनेको थिएँ खै सच्याएको ? तिनीहरू (कार्यदलका आफ्ना सदस्य) केपी ओलीको जालमा परे ।

आफ्नैप्रति अविश्वास
वरिष्ठ नेता नेपाल पछिल्लो समय कार्यदलमा पठाएका आफ्नै सदस्यहरूप्रति समेत सन्तुष्ट छैनन् । त्यसैले उनले तेस्रो र चौथो तहका नेता कार्यकर्ताको भर पर्न थालेका छन् । शनिबारको अखिल फोर्सको भेलामा पनि नेपाल र रामकुमारी झाँक्रीले सम्बोधन गरे तर दोस्रो तहका नेतालाई बोलाइएन ।

झाँक्रीले त माधव नेपाललाई धोखा दिएर दोस्रो तहका नेताहरू अर्कैतिर मिल्न गएको आशंका समेत व्यक्त गरिन् । कार्यदलको बैठकमा पनि सुवास नेम्वाङ लगायतका नेताहरूले माधव नेपाल पक्षधर नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न सुझाव दिएको दिएका छन् ।

सम्भवत: शनिवारबाटै एमालेले अब आफ्नो निर्णय गरेर अघि बढ्नेछ । तर नेपाल पक्षधर नेताहरूलाई अझै केही दिन पर्खिने सोचमा ओली छन् । उनले यसबीचमा माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरूलाई व्यक्तिगत रूपमा बोलाएर भेटघाट गरिरहेका छन् ।

आफूले विश्वास गरेका दोस्रो तहका नेताहरूप्रति उनको भरोसा टुटेको छ । पछिल्लो भेला र छलफलहरूमा माधव नेपालले भन्दा सांसद र केन्द्रीय सदस्यहरूले ती नेताहरूको चर्को विरोध गरिरहेका छन् । भीम रावल र सुरेन्द्र पाण्डे जस्ता नेताहरूले अन्तिममा घोखा दिएको निष्कर्ष नेपाल पक्षको छ ।

उनले केही नेताहरूसँगको छलफलमा अब नयाँ पार्टीमा बरु डा. विजय पौडेललाई महासचिव बनाउने तर दोस्रो तहका भनिएका नेताहरूको विश्वास नगर्ने बताएका छन् । पौडेल पछिल्लो समय माधव नेपालको प्रतिनिधित्व गर्दै सत्तारुढ गठबन्धनका बैठकमा जाने गरेका छन् ।

नेपालले भने आफू निकट स्थायी कमिटी सदस्यहरूसँगको छलफल पातलो बनाएका छन् । बरु उनी आफूलाई विश्वासको मतका बेला साथ दिने २२ सांसदसँग नजिक छन् । नेपालमाथि सरकारमा जान पनि दबाब छ । सम्भवत: नेपाल पक्षका केही मन्त्रीले चाँडै सपथग्रहण समेत गर्नेछन् ।

यदि नेपालले सरकारमा मन्त्री पठाएमा एमाले एकताका लागि भन्दै विश्वासको मतका बेला संसद छाडेका नेता र सांसदहरूले औपचारिक रूपमा माधव समूहबाट आफ्नो आबद्धता तोड्नेछन् । नेपाल निकट सांसद झपट रावलले माधव नेपालले त्यस्तो कदम नचाल्ने अपेक्षा व्यक्त गरे ।

रावलले भने- हामीले संसद जोगाउन अदालत गयौं र हाम्रै कारण संसद जोगियो । अब हाम्रो प्राथमिकता भनेको एमाले जोगाउने हो । एमाले जोगाउनका लागि माधव नेपाल र केपी ओलीबीच संवाद हुनुपर्छ । तर, माधव नेपालले सरकारमा सहभागी हुने कुरा एमाले एकताको बाधक हुनेछ, यो कुरा हामीले भनेका छौं ।

तर, मन्त्रिपरिषद् विस्तार रोकिएकै माधव नेपालले अन्तिम निर्णय नगरेर मात्र हो । अब लगभग त्यो बेला आएको छ । उनले केपी ओली निकट नेताहरूसँग प्रष्ट शब्दमा ‘एमाले मिल्ने हो भने ओलीले अध्यक्ष छाड्नुपर्छ’ भनेका छन् । तर त्यो सम्भावना छैन । त्यही विन्दूबाटै माधव नेपालको बाटो अलग भएको छ । नेपाल प्रेसबाट

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार