एमालेले कुनै पनि हालतमा एमसीसी पास हुन नदिने



एमालेको संस्थापन पक्षले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कुनै पनि हालतमा अस्वीकार गर्ने संकेत दिएको छ । अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा जसरी पनि एमसीसी पास गर्न कस्सिएको एमाले सरकारबाट बाहिरिएसँगै विरुध्दमा उभिने देखिएको हो ।

आज च्यासलमा बसेको सो पार्टीको ललितपुर महानगर कमिटी बैठकमा अध्यक्ष मन्जली शाक्यले वडा तहसम्म पुगेर एमसीसीको विरोध गर्ने बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसीसी पास गर्नैका लागि आएको दाबी गर्दै उनले वडा(वडामा कमिटी बनाएर सशक्त विरोध गर्ने उद्घोष गरिन् ।

उनले राष्ट्रिय राजनीतिमा एक्लिन परे पनि आफूहरुले सही एजेण्डा उठाएका कारण आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई आश्वस्त समेत पारेकी छन् । ‘हामी अहिले एक्लै छौँ । तपाईंहरु नआत्तिनु होला । हामीसँग एजेन्डा छन्,अवश्य सफल हुनेछौं’, उनले भनिन् ।

एमालेमा शाक्य रामबहादुर थापा समूहकी हुन् । गृहमन्त्री हुँदा थापासमेत एमसीसीको विपक्षमा उभिएका थिए । नेकपाको विभाजन र प्रतिनिधिसभा विघटन हुनुमा एमसीसी सम्झौतालाई समेत एउटा महत्वपूर्ण कारण मान्ने गरिएको छ । सम्झौतालाई लिएर पार्टीमा विवाद हुँदा तत्कालीन नेकपाले अध्ययन कार्यदल नै बनाउनुपरेको थियो ।

कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न पार्टीलाई सुझाव दिएको थियो । नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष ओली र ईश्वर पोखरेलबाहेक सबै एमसीसीको विरुध्दमा थिए । सभामुख र पार्टीका नेताहरुको असहयोगका कारण एमसीसी संसदबाट अनुमोदन हुन नसकेको भन्दै ओली अहिलेसम्म पनि असन्तुष्ट रहँदै आउनुभएको छ । जनआस्थामा खबर छ ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार