आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध, जवर्जस्ती गरे अभद्र व्यवहार मुद्दा चलाइने



काठमाडाैं, २५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

भेला भएर हाेली खेल्न निषेध !

यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गरेकाे छ । साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि निश्चितकालसम्मका लागि स्वीकृति नदिने निर्णय समेत गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने/खेल्ने काम नगर्न आग्रह गरिएको छ । गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ ।

जवर्जस्ती गरे अभद्र व्यवहार मुद्दा चलाइने

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । यस वर्ष पनि होली पर्वलाई लक्षितगरी प्रहरीले विशेष सुरक्षा बनाएकाे छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलकाे अनुसार होली विशेष सुरक्षा योजना अन्तर्गत करिव २५ सय प्रहरी परिचालन गरिएकाे छ । यस अवसरमा कसैको इच्छा/बिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको गरिएकाे छ ।

इच्छा/बिना जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । बालबालिकाले पनि कसैकाे इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी टोलि तयार राखेको छ । यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ । होलीलाई मर्यादित, सुरक्षीत र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउने भएको छ । चाडवाडमा मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी कुदाउनेलाई पनि कारबाही गरिने छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते सोमवार