एमाले कब्जा गर्ने माधव समुहको रणनीति, ओली समूहमा विद्रोहकाे तयारी !



काठमाण्डाै | नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेकाे बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।

आफूहरूकाे माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेता विरोध खतिवडाले जानकारी दिनुभयो । आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आएको र आफूहरूलाई कतैबाट पनि स्पष्टीकरणको पत्र नआएको उहाँले बताउनुभयो ।

यस्तै सांसद मेटमणि चौधरीले केही सांसद र नेताले नयाँ पार्टी गठनको सुझाव दिएको र कानुन र संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थालिने बताउनुभयो । अबको १५/२० दिनभित्रै आफूहरू केन्द्रीय कमिटी र संसदीय समितिमा बहुमतमा पुग्ने र केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर एमालेलाई नयाँ संरचनाबाट एकताबद्ध बनाउने विषयमा पनि बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार