काठमाडौँ, २५ फागुन । सरकारले आजदेखि ६ वटा देशबाट नेपाल भित्रिने यात्रुका लागि कोरोना भाइरस संक्रमित नभएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका चीन, जापान, दक्षिण कोरिया, इटाली, इरानबाट आउने सबैले अनिवार्य कोरोना नेगेटिभ भएको स्वास्थ्य रिपोर्ट देखाउनैे पर्ने भएको हो । भाइरस अति प्रभावित देश हुँदै नेपाल भित्रिने जुनसुकै देशका नागरिकले नेपाल प्रवेश गर्नुपूर्व आफूमा कोरोना भाइरस नभएको स्वास्थ्यको रिपोर्ट देखाउनुपर्ने नियम सरकारले लागू गरेको हो ।
शनिबार मूख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिव तथा सहसचिवहरुको बैठकले कोरोना भित्रिन नदिन थप कडाई गर्ने निर्णय गरेको हो । यस्तै, भारतसँग सीमा जोडिएका तराईका ६ मूख्य नाका र अन्य ३१ सहायक नाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाइने भएको छ । यस्तै ठूला अस्पताललाई सम्भावित जोखिम र कोरोना संक्रमितको उपचारका लागि अझै अलर्ट रहन निर्देशन दिनेसमेत निर्णय गरेको छ ।