प्रचण्डको प्रश्न-ओलीसँग मिल्न लागेको हो ? माधवले भने- फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुन्न



काठमाडौं । नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् । बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका हुन् ।

एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गरिने तय भएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले नेता नेपालसँग अ‍ोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ ।

बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन ।

स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार