छलफललाई ‘फाइनल’ रूप दिने प्रयास भइरहेकाे छ : रघुजी पन्त !



काठमाण्डौ | नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै रातिसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताउनुभएको छ ।

आज कार्यदलको बैठक दिउँसोदेखि चलिरहेको छ । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढङ्गले अगाडि बढेको भन्दै आजै रातिसम्ममा सहमति हुन सक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मस्यौदामा छलफल गर्‍यौँ । मस्यौदामा हामीलाई लागेका सुझाव दियौँ । छलफल सकारात्मक ढङ्गले भएको छ । हाम्रो सुझावलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्‍याउने प्रयत्न छ ।

पार्टी एकतालाई कसरी प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने केही बुँदामा हामीले आफ्ना धारणालाई सहमतिका साथ बनाउने प्रयत्न गरेका छौँ । साथीहरूले राखेका भावना, धारणा र विचारलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ ।

छलफल चलिरहेको छ । त्यसलाई फाइनल रूप दिने प्रयास भइरहेको छ ।’ कार्यदलको बैठक गएको सोमवारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार