साउन १ गतेवाट नचल्ने भनिएका मोवाइल कस्ता हुन् ? प्राधिकरणले दियो जानकारी (सूचना सहित)



काठमाडौं । अब साउन १ गतेवाट केही मोवाइल नेपालमा चल्दैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेको छ । जसका कारण चोरी गरेर, भन्सार छलेर ल्याइएका मोवाइल साउन १ गतेदेखि चल्दैनन् । प्राधिकरणले विदेशवाट ल्याइएका मोवाइलको आइएमइआई दर्ता गर्न भनेको छ । जसका कारण आइएमइआइ दर्ता गर्नेहरुको अध्याधिक चाप भएकाले साइट नै खुल्न छोडेको छ ।

यस्तो समस्या आएपछि प्राधिकरणले सूचना जारी गर्दै त्यसवारे पूर्ण जानकारी दिएको छ । डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्नका लागि तीव्रताको साथ काम अघि बढेको जनाएको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ । “व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,” सूचनामा भनिएको छ । नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार