प्रयोगशाला र हेल्थ डेस्कले प्रमाणित गरेका श्रमिक कोरिया जान पाएनन् !



रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकका लागि नेपाल सरकारअन्तर्गतको प्रयोगशालाको रिपोर्ट अमान्य भएपछि कोरिया जान तयार रहेका युवा रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको हेल्थ डेस्कले रिपोर्ट प्रमाणित गरे पनि अध्यागमन कार्यालयले रोक लगाएपछि श्रमिक विदेश जान नपाएका हुन् ।

सरकारले मान्यता दिएको कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय वायोटेक कोरोना प्रयोगशालाको आरटी पीसीआर परीक्षण अमान्य भएपछि कोरिया जान तयारीमा रहेका युवा रोकिएका छन् । सोमबार कतार हुँदै कोरिया जान लागेका नवलपरासीका बाबुराम कुमाललाई विमानस्थल हेल्थ डेस्कले जान सक्ने भनी प्रमाणित गरे पनि उनी जान नपाएका हुन् ।

तोकिएका सबै सरकारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मान्य हुने नेपाल सरकारको भनाइ भए पनि कोरियन दूतावासले चारवटा निश्चित प्रयोगशालामा गरिएको आरटी पीसीआरमात्र कोरिया प्रवेशका लागि मान्य हुने सूचना गरेको छ । सरकार र नेपालस्थित कोरियन दूतावासबीच कोरोना परीक्षणको मान्यताका सम्बन्धमा समन्वय नहुँदा कोरिया जान एयरपोर्ट पुगेका नेपाली अलपत्र परेका छन् । सो प्रयोगशालाका ल्याब टेक्निसियन गणेश अधिकारीले सोमबार कोरिया जाने तयारीसहित एयरपोर्ट पुगेका नेपालीलाई प्रवेश रोक लगाइएको बताए । केही समयअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा। रुणा झाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा विदेश जानका लागि परीक्षण गर्न सबै सरकारी अस्पताल, सबै अस्पताल तथा ए वर्गका प्रयोगशालाले अनुमति पाएको बताएकी थिइन् ।

नेपालस्थित कोरिया दूतावासले भने २४ फेब्रुअरी २०२१ मा सूचना सार्वजनिक गरेर पाटन अस्पताल, कोरिया नेपालमैत्री अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको पीसीआर परीक्षणलाई मात्र मान्यता दिने जनाएको थियो । त्रिभुवन विमानस्थल अध्यागमन विभागका प्रमुख सुशील वैद्यले पीसीआर परीक्षणको काम एयरपोर्टमा रहेको सीसीएमसी शाखाले गर्ने जनाए ।

पीडित युवा कुमालले भने हेल्थ डेक्सले प्रमाणीकरण गरेको रिपोर्टलाई अध्यागमन विभागले मान्य नहुने जनाएर फर्काएको बताए । नवलपरासीका कुमाल कोरियाबाट बिदामा आएर दुई महिनापछि सोमबार दिउँसो दक्षिण कोरिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको भए पनि उनले प्रवेश पाएनन् । बिदामा फर्कने टिकट लिएर आएका पीडित युवाले कोरिया जान सरकारी ल्याबमा कोरोना परीक्षण ९पीसीआर० गरेका भए पनि प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर पीडित युवा कतार एयरवेजको उडानमार्फत कोरिया जाने तयारी गरी विमानस्थल पुगेपछि कतार एयरवेजले फर्काइदिएको थियो ।

सरकारी ल्याबलाई मान्यता दिइएको भने तापनि केही वायुसेवा कम्पनीले आफूखुसी निर्णय गर्दा सरकारी ल्याबको विश्वास गुम्ने खतरा बढेको कीर्तिपुर ल्याबका अधिकारीले बताए । “स्वास्थ्य मन्त्रालयले सबै सरकारी ल्याबलाई पीसीआर परीक्षणको मान्यता दिएकाले हामीले परीक्षण गरेका हौं,” उनले भने, “केही वायुसेवा कम्पनी र सम्बन्धित देशले सीमित ल्याबलाई मात्र मान्यता दिएर सिन्डिकेट लागू गर्दा सरकारी ल्याबको मान्यता नै गुमेको छ ।” कारोबार दैनिकबाट

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार